Harsamaya
बरामद मासु प्रकरण : मुख्य कारोबारीलाई भएन कारबाही
अवैध मासु ।

इनरुवा - केही दिन अगाडि सुनसरीको कोशी गाउँपालिका क्षेत्रबाट ठूलो परिमाणमा बरामद गरिएको अवैध मासु प्रकरणका मुख्य कारोबारी अझै कानुनी दायरामा आउन सकेका छैनन् ।

सुरक्षा निकायले मासु नियन्त्रणमा लिएको लामो समय बितिसक्दा पनि घटनाका मुख्य योजनाकार तथा व्यापारी पक्राउ नपर्दा कारबाही प्रक्रिया सुस्त बनेको हो ।

कोशी क्षेत्रको सीमावर्ती नाकाबाट अवैध रूपमा ओसारपसार भइरहेको ठूलो परिमाणको मासु प्रहरी तथा स्थानीयको सक्रियतामा जफत गरिएको थियो ।

खुला सीमाको फाइदा उठाउँदै अखाद्य तथा गैरकानुनी रूपमा ओसारपसार भइरहेको उक्त मासु नियन्त्रणमा लिइए पनि सो धन्दामा संलग्न मुख्य नाइकेसम्म प्रहरी पुग्न सकेको छैन ।

प्रहरीले ओसारपसारको विषयमा सुक्षम ढंगले अनुसन्धान गरिरहेको भनिए पनि गिरोहका मुख्य सञ्चालक भने अझै फरार रहेका छन् । वास्तविक कारोबारी अहिलेसम्म पक्राउ नपर्दा स्थानीयवासी र सरोकारवालाहरूले असन्तोष व्यक्त गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले भने घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र यसमा संलग्न व्यक्तिको प्रोफाइल तयार भइरहेको सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । प्रहरीका अनुसार अवैध ओसारपसारमा संलग्न जोकोहीलाई खोजी गरी कानुनी कारबाही गरिने प्रतिबद्धता जनाइएको छ ।

सीमावर्ती कोशी क्षेत्रबाट पटक—पटक अवैध रूपमा मासु तथा पशुचौपायाको तस्करी हुने गरे पनि मुख्य कारोबारी पक्राउ नपर्दा तस्करीको सञ्जाल कायमै रहेको स्थानीयको गुनासो छ ।

सरोकारवालाहरूले सीमा नाकामा कडा निगरानी बढाउन र अवैध कारोबारका मुख्य नाइकेलाई अविलम्ब पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update