काठमाडौं - नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद अर्जुननरसिंह केसीले भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलन कुनै दलको सत्ता फेरबदलका लागि मात्र नभई शासन व्यवस्थाको संस्कार, कार्यशैली र सुशासन कायम गर्नका लागि भएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै नेता केसीले जेन्जी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै युवा पुस्ताले परिकल्पना गरेको नयाँ र समृद्ध नेपाल निर्माणमा सरकार कत्तिको गम्भीर छ भन्दै प्रश्न गरे। ‘यो आन्दोलन विधिविहीनता, दण्डहीनताको अन्त्य र संस्कार परिवर्तनका लागि थियो,’ उनले भने, ‘सहिदहरूले सपना देखेको समाज र राज्य निर्माण गर्न हामी गम्भीर हुनुपर्छ।’
देशका विभिन्न भागमा देखिएको खाद्यान्न, मल र ग्यासको हाहाकार तथा प्राकृतिक विपद्को परिस्थितिप्रति ध्यानाकर्षण गराउँदै नेता केसीले सरकारलाई युद्धस्तरमा राहत र उद्धार कार्य अघि बढाउन आग्रह गरे। खासगरी काठमाडौँ-नुवाकोट-रसुवा जोड्ने सडक सञ्जाल बिग्रिएकाले तत्काल कम्तीमा तीनदेखि पाँच वटा बेली ब्रिज निर्माण गरी 'कनेक्टिभिटी' कायम गर्न उनले जोडदार माग गरे।
जलवायु परिवर्तनको असरका कारण हिमाली तथा तटीय क्षेत्रले ठुलो क्षति व्यहोरिरहेको उल्लेख गर्दै नेता केसीले जोखिम न्यूनीकरण र पूर्वसूचना प्रणालीका लागि नेपाल, भारत र चीनबिच ‘त्रिदेशीय संयन्त्र’ निर्माण गर्नुपर्ने महत्त्वपूर्ण प्रस्ताव समेत पेस गरेका छन्।

