काठमाडौं - भदौ १० गते नेपाल र चीनमा विनाशकारी बाढी निम्त्याएको हिमनदी भत्किनुअघि करिब पाँच हजार २०० मिटर उचाइको हिमाली क्षेत्रमा असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसमसम्बन्धी तथ्याङ्कको विश्लेषणले देखाएको छ।
अनुसन्धानकर्ताका अनुसार भदौ ५ देखि १० गतेसम्म उक्त क्षेत्रमा औसत तापक्रम झन्डै ५ डिग्री सेल्सियस पुगेको अनुमान गरिएको छ। ५५ वर्षभन्दा लामो मौसमसम्बन्धी तथ्याङ्कअनुसार यसअघि सोही अवधिमा तापक्रम ४ डिग्री सेल्सियसभन्दा माथि पुगेको थिएन।
यद्यपि, असाधारण उच्च तापक्रम र हिमनदी भत्किनुबीच प्रत्यक्ष कारण–सम्बन्ध भने अहिलेसम्म स्थापित भइसकेको छैन।
क्यालिफोर्नियास्थित स्वतन्त्र अनुसन्धान संस्था बर्कले अर्थका प्रमुख वैज्ञानिक रोबर्ट रोहडेले विभिन्न मौसमसम्बन्धी तथ्याङ्कको विश्लेषण गर्दै उक्त असाधारण तापक्रमको पुनर्निर्माण गरेका हुन् ।
उनका अनुसार हिमनदी भत्किएको क्षेत्रमा २०औँ शताब्दीको मध्यदेखि भदौ ५–१० गतेसम्मको अवधिमा रेकर्ड गरिएको औसत तापक्रम करिब १.८ डिग्री सेल्सियसले बढेको देखिएको छ। जलवायु परिवर्तनका कारण थपिएको तापक्रमलाई अलग गर्ने हो भने यस्तो तापक्रमको अवस्था केही हजार वर्षमा एकपटक मात्र देखिने प्रकृतिको हुनसक्ने उनको गणनाले देखाएको छ।
युरोपेली सङ्घको कोपर्निकस जलवायु परिवर्तन सेवाबाट सन् १९७० यताका तथ्याङ्क विश्लेषण गर्दा पनि लाङटाङ क्षेत्रमा बाढी आउँदाको समय रेकर्डमा रहेको चौथो सबैभन्दा तातो गर्मीको अवधिसँग मेल खाने देखिएको छ।
सम्भावित ‘टिपिङ पोइन्ट’
फ्रान्सेली जलवायुविद् भ्यालेरी म्यासन–डेल्मोटेका अनुसार असाधारण गर्मीले पर्माफ्रस्ट पग्लिनुका साथै चट्टानी ढलान र हिमनदीको संयुक्त पतनलाई सम्भावित रूपमा बढावा दिएको हुन सक्छ।
पर्माफ्रस्टले बरफको सिमेन्टजस्तै काम गर्दै चट्टानी संरचनालाई एकसाथ बाँधेर राख्छ। तापक्रम बढेर पर्माफ्रस्ट पग्लिँदा त्यस्ता संरचना थप अस्थिर बन्न सक्छन्।
उपग्रहबाट प्राप्त तस्बिरमा पनि घटना हुनुअघिका दिनमा उल्लेखनीय रूपमा हिउँ पग्लिएको देखिएको छ। फ्रान्सको राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्रका हिमनदीविद् एटिएन बर्थियरका अनुसार पग्लिएको पानी पहाडका चिरामा प्रवेश गर्दा पहिरो वा ढलान भत्किन सहज भएको हुन सक्छ।
तर विज्ञहरूले उच्च तापक्रमले हिमनदी वा पहाड भत्काउन प्रत्यक्ष रूपमा भूमिका खेलेको निष्कर्ष निकाल्न अझै हतार गर्न नहुने बताएका छन्।
ग्रेनोबल आल्प्स विश्वविद्यालयकी भू–आकृतिविद् क्रिस्टन कुकका अनुसार तापक्रम बढ्नु र पहाड भत्किनुलाई एउटै घटनाका रूपमा हेर्न मिल्दैन। तापक्रमले ‘ट्रिगर’को काम गरेको भए पनि चट्टान पतनको निर्णायक अवस्थामा नपुगेसम्म त्यसको प्रभाव नदेखिन सक्ने उनको भनाइ छ।
अनुसन्धानकर्ताले अहिले हिमनदी भत्किनुअघिका वर्षमा पहाडमा देखिएका साना–साना गतिविधि र तापक्रममा आएको परिवर्तनबीचको सम्बन्धबारे थप अध्ययन गरिरहेका छन्।
रोहडेका अनुसार पग्लिएको पानी र पर्माफ्रस्ट पग्लिनुका कारण चट्टानका चिरा तथा ‘फ्र्याक्चर प्लेन’ आसपासको संरचना उल्लेखनीय रूपमा कमजोर भएको प्रमाण भेटिएमा जलवायु परिवर्तनको भूमिकाको बलियो प्रमाण प्राप्त हुनसक्नेछ।
उनको तापक्रम विश्लेषणमा कोपर्निकस कार्यक्रमअन्तर्गतको जलवायु मोडेल तथा हिमनदी भत्किएको स्थानबाट ९ देखि १४० किलोमिटर दूरीमा रहेका १४ वटा उच्च उचाइका मौसम केन्द्रका तथ्याङ्क प्रयोग गरिएको थियो।

