काठमाडौं - सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क गरी आफूलाई ‘ह्याकर’ बताउँदै नग्न तस्बिर तथा भिडियो आफूसँग रहेको भन्दै रकम असुल गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका–सल्यानथान बस्दै आएका २३ वर्षीय कमलबहादुर बुढा रहेका छन्।
प्रहरीका अनुसार बुढाले महिलासँग सामाजिक सञ्जालमार्फत सम्पर्क गरी नग्न तस्बिर तथा भिडियो आफूसँग रहेको भन्दै रकम माग गरेका थिए। रकम नदिए तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिँदै उनले ९ लाख ९५ हजार रुपैयाँ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाबारे सूचना प्राप्त भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बुढालाई पक्राउ गरेको हो।
उनलाई आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

