Harsamaya
एपीएफ र भारतीय एसएसबीबीच व्यावसायिक सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता
सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) का अधिकारीहरू ।

काठमाडौं - सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीच व्यावसायिक सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा भदौ ९ गते एसएसबीको आन्तरिक सुरक्षा तथा रणनीति व्यवस्थापन कोर्सका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागितामा विशेष व्यावसायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले नेपाल–भारत सुरक्षा निकायबीचको सम्बन्ध आपसी विश्वास, सम्मान र व्यावसायिक सहयोगमा आधारित रहेको बताउनुभयो। उहाँले अन्तरक्रियाले समकालीन सुरक्षा चुनौती सामना गर्न तथा दुई सुरक्षा निकायबीचको सम्बन्ध थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजस्व संकलनमा सहयोग तथा आन्तरिक सुरक्षामा सशस्त्र प्रहरी बलले निर्वाह गर्दै आएको भूमिकाबारे प्रस्तुतीकरण गरेका थिए । 

एसएसबीका डिआइजी सञ्जयकुमार शर्माले सशस्त्र प्रहरी बल नेपालको व्यावसायिक कार्यसम्पादनमा भएको प्रगति प्रशंसनीय रहेको बताए । 

अन्तरक्रियामा खुला सीमालाई थप सुरक्षित बनाउने, सूचना आदान–प्रदान बढाउने, सीमा अपराध नियन्त्रण गर्ने तथा संयुक्त क्षमता अभिवृद्धि गर्ने विषयमा छलफल भएको जनाइएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update