रामेछाप - काठमाडौंस्थित चार वटा मोटरसाइकलमा मन्थली आएर एक युवकलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा रामेछाप प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मन्थली नगरपालिका–९ कलेरी, मानेडाँडामा बस्ने ३२ वर्षीय करण विकले रिसइबीका कारण योजना बनाई काठमाडौंका विभिन्न स्थानबाट आठ जना व्यक्तिलाई चार वटा मोटरसाइकलमा मन्थली ल्याएका थिए।
उनीहरूले रामेछापको खाँडादेवी गाउँपालिका–९ स्कुलडाँडा बस्ने ३५ वर्षीय जीवन विकलाई कुटपिट गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ। कुटपिटबाट बेहोस भएका जीवनलाई तत्काल उपचारका लागि मन्थलीस्थित रामेछाप सामुदायिक अस्पताल पठाइएको थियो।
घटनामा संलग्न व्यक्तिहरूलाई मोटरसाइकलसहित पक्राउ गरी ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–३ आँपचौरका २५ वर्षीय गोपाल विक, सोही गाउँपालिका–२ मझुवाका २० वर्षीय दिपेन्द्र लोहार, वडा नं. ९ राकाथुमका ३६ वर्षीय नारायण लोहार, मन्थली नगरपालिका–९ कलेरीका ३२ वर्षीय करण विक, २५ वर्षीया विपना खाती, सिन्धुली सुनकोसी गाउँपालिका–८ डाँगीका २४ वर्षीय रमन विक, ३० वर्षीय रमेश विक र २० वर्षीय चतुरलाल विक रहेको प्रहरीले जनाएको छ।

