बागलुङ - काठेखोला गाउँपालिका–३ माझँकटेरामा लेबर काम गर्ने साथीको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार साउन २६ गते राति करिब ९ः४० बजे श्री निर्मल आधारभूत विद्यालयको पुरानो भवनमा लेबर काम गरी बस्दै आएका ढोरपाटन नगरपालिका–७ स्थायी घर भई हाल ढोरपाटन–५ बस्ने ३६ वर्षीय अशोक खत्रीको हत्या भएको थियो।
प्रारम्भिक अनुसन्धानमा सँगै लेबर काम गर्ने ढोरपाटन नगरपालिका–६ का २५ वर्षीय अर्जुन घर्ती मगरले धारिलो हतियार प्रहार गरी खत्रीको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
घटनाको सूचना पाएलगत्तै स्थानीयको समन्वयमा प्रहरीले घटनापछि भाग्न नपाउँदै अर्जुन घर्ती मगर र उनीहरूसँगै काम गरी बस्ने ढोरपाटन–५ का ३६ वर्षीय रिखे दमाईलाई साउन २६ गते राति नै काठेखोला–३ धम्जा माझँकटेराबाट पक्राउ गरेको थियो।
अनुसन्धानका क्रममा तीनै जना साउन २० गते धम्जा माझँकटेराका देबेन्द्र खत्रीको ओखरको बिरुवा रोप्ने कामका लागि घरबाट हिँडेका थिए। बाटोमा अशोकको घरमा काम परेपछि उनी बीचबाटै फर्किएका थिए भने अर्जुन र रिखे काम गर्ने स्थानमा पुगेका थिए।
साउन २४ गते अशोक पनि काम गर्ने स्थानमा पुगेपछि तीनै जना सँगै बस्दै आएका थिए। साउन २५ गते राति फोनमा ठूलो स्वरमा कुरा गरेको विषयलाई लिएर उनीहरूबीच सामान्य विवाद भएको थियो।
त्यसको भोलिपल्ट दिनभरको काम सकेपछि तीनै जना सँगै बसेर मादक पदार्थ सेवन गर्ने क्रममा अघिल्लो दिनको विवादलाई लिएर पुनः झगडा भएको थियो। सोही क्रममा अर्जुनले धारिलो चक्कुले अशोकमाथि प्रहार गरेको र उनको मृत्यु भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
मृतक अशोकका १२, ९ र ७ वर्षका तीन छोरा छन्। उनकी श्रीमतीसमेत गर्भवती रहेको र परिवारका सदस्यहरू मृतकमै आश्रित रहेको जनाइएको छ। मृतककी श्रीमती दिलमाया भण्डारीले कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएकी छन्।
प्रहरीले घटनामा प्रयोग भएको चक्कु तथा रगत लागेका कपडालगायतका दशी प्रमाण बरामद गरेको जनाएको छ। पक्राउ परेका अर्जुन घर्ती मगर र रिखे दमाईलाई अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

