काठमाडौं - सामाजिक सञ्जाल फेसबुकमा नाबालिकासँग साथी बनेर आफूलाई प्रलोभनमा पारी अश्लील सामग्री सामाजिक सञ्जालमा पोस्ट गरी चरित्र हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार नुवाकोटको शिवपुरी गाउँपालिका–८ का १९ वर्षीय सुजन कटुवाललाई पक्राउ गरिएको हो।
नाबालिकासँग फेसबुकमा साथी बनेर उनलाई प्रलोभनमा पारी अश्लील सामग्री सामाजिक सञ्जालमा पोस्ट गर्ने र रकमसमेत मागेको भन्दै परेको निवेदनमाथि प्राविधिक विश्लेषण तथा अनुसन्धानबाट कटुवाल संलग्न रहेको खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कटुवाललाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी दिलीपकुमार गिरीले बताए।

