काठमाडौं - जाजरकोटमा कुटपिटबाट एक औषधि व्यवसायीको मृत्यु भएको घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिका–१० नुवागाडमा गत साउन २५ गते राति स्थानीय ३३ वर्षीय दिपककुमार थापालाई पाँच जनाको समूहले हातपात तथा मुक्का प्रहार गरी कुटपिट गरेको थियो।
गम्भीर घाइते थापाको उपचारका क्रममा नेपालगन्जस्थित नेपालगन्ज मेडिकल कलेजमा साउन २८ गते बिहान ९ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा भेरी नगरपालिका–६ का ३३ वर्षीय बिरेन्द्र खत्री, भेरी–९ का २१ वर्षीय निरज रोकाय, २१ वर्षीय शिशिर योगी गोसाईं, २४ वर्षीय लक्ष्मण रोकाय र २८ वर्षीय विनोद गोसाईंलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकाहरूलाई जाजरकोट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा पहिलोपटक १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

