Harsamaya

काठमाडौं - थाइल्यान्डबाट नेपाल हुँदै गाँजा तस्करी गर्ने नयाँ शैलीको खुलासा भएको छ। प्रहरीले १८ किलो थाइल्यान्डको गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्ने विदेशी यात्रुको ‘प्रोफाइलिङ’ गर्ने क्रममा लागूऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय गौचरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार २०८३ साउन २६ गते राति क्याथे प्यासिफिकको उडानमार्फत थाइल्यान्डको बैंकक हुँदै हङकङबाट नेपाल आएका भारतीय नागरिक ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमारले लागूऔषध गाँजा लुकाएर ल्याएका थिए।

उनीहरूले गाँजा लुकाइएको लगेज आगमनतर्फको भन्सार क्षेत्रमा छाडेर भाग्न खोजेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। उनीहरूको साथबाट १८ किलो गाँजा, दुई थान पासपोर्ट, दुई थान मोबाइल र चार थान झोला बरामद भएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा थाइल्यान्डबाट गाँजा ल्याउने भारतीय नागरिकहरूले विमानस्थलमा पक्राउबाट बच्न आगमनतर्फको भन्सार क्षेत्रमा लगेज छाडेर जाने र केही दिनपछि नेपाली एजेन्टमार्फत लगेज ‘क्लेम’ गरी लैजाने योजना बनाउने गरेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update