राजविराज - सप्तरीको सुरुङ्गा नगरपालिका–९ शिशुवारी मुसहरी टोलमा श्रीमतीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको र उपचारका क्रममा मृत्यु भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही स्थानका ५६ वर्षीय कौसिया सदा रहेका छन्।
प्रहरीका अनुसार साउन २० गते साँझ करिब ६ बजे कौसियाले मादक पदार्थ सेवन गरी आफ्नी ५२ वर्षीया श्रीमती फूलकुमारी सदालाई कुटपिट गर्नुका साथै इँटाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए।
घाइते फूलकुमारीलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल लहान, सिरहामा उपचारका लागि पठाइएको थियो। घटनापछि कौसियालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कडरबोनाबाट अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको थियो।
सप्तरी जिल्ला अदालतबाट साउन २० गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेकै अवस्थामा साउन २४ गते बिहान ३:३० बजे उपचारका क्रममा फूलकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकका छोरा लिला सदाको जाहेरीका आधारमा अभद्र व्यवहार मुद्दालाई कर्तव्य ज्यान मुद्दामा परिणत गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

