Harsamaya
शिकार खेल्ने क्रममा गोली लागेर एकको मृत्यु, ६ जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सल्यान - सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनामा सँगै शिकार खेल्न गएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सल्यानको कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा साउन २२ गते कालिमाटी गाउँपालिका–२ बराहडुंगा बस्ने अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर साथीहरूसँग शिकार खेल्न गएका थिए।

शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो भाग तथा कम्मरमा गोली लागेको थियो। गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कालिमाटी, सल्यानबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

घटनामा संलग्न रहेको आरोपमा कालिमाटी गाउँपालिका–३ बल्लेका ५६ वर्षीय मानबहादुर विक, ४३ वर्षीय जुद्रबहादुर रेउले, ३२ वर्षीय खुमेन्द्रबहादुर रेउले, ३५ वर्षीय सेईतराम थापा, ५९ वर्षीय कुलबहादुर बुढाथोकी तथा कालिमाटी गाउँपालिका–२ बराहडुंगाका ७२ वर्षीय पदमबहादुर श्रीस मगर पक्राउ परेका छन्।

पक्राउ परेका उनीहरूमाथि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०८३  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update