काठमाडौं - सर्लाहीमा भारतीय नम्बर प्लेटको कारबाट करिब १०९ किलोग्राम गाँजा बरामद भएको छ। लागूऔषधसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर अगाडि पूर्व–पश्चिम राजमार्गमा सवारी जाँचका क्रममा उक्त गाँजा बरामद गरिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको बीआर ०९ एम ३७६६ नम्बरको भारतीय कार रोकी जाँच गर्दा कारको डिक्कीमा लुकाइछिपाइ राखिएको २३ वटा पोकामा प्याक गरिएको करिब १०९ किलोग्राम (प्लास्टिकसहित) गाँजा फेला पारेको थियो।
घटनामा भारतको बिहार राज्य, सितामढी जिल्ला, समुद्र थाना क्षेत्र निवासी २६ वर्षीय दीपक कुमार महतो र सोही स्थानका २५ वर्षीय अमन कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। दीपक कार चालक हुन् भने अमन कारमा सवार थिए।

