काठमाडौं - थाइल्यान्डबाट नेपालमा गाँजा तस्करी गरेको आरोपमा तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गौचर शाखाले थाइल्यान्डबाट लागुऔषध तस्करी हुन सक्ने सूचनाका आधारमा यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार साउन १६ गते राति क्याथे प्यासिफिक एयरवेजको उडान नम्बर सीएक्स ६०३ मार्फत थाइल्यान्डबाट हङकङ हुँदै काठमाडौं आएका दुई भारतीय नागरिकले झोलाभित्र लुकाएर ल्याएको ११ किलोग्राम गाँजा बरामद गरिएको थियो। सो गाँजा लिन विमानस्थल पुगेका अर्का एक भारतीय नागरिकलाई समेत पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा भारतको पञ्जाबस्थित लुधियाना घर भएका ३० वर्षीय सोनी र २३ वर्षीय जागरुप सिंह, तथा हरियाणा घर भएका २२ वर्षीय साहिल रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ११ किलोग्राम गाँजा, तीन थान राहदानी (पासपोर्ट) र तीन थान मोबाइल फोन बरामद गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

