मोरङ - मोरङको रतुवामाई नगरपालिका–१०, सोमबारेबाट प्रहरीले एक हजार ३३ किलो ४८४ ग्राम तयारी गाँजासहित मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय सिजुवा र सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म बङ्गडा चुनिबारीबाट खटिएको संयुक्त टोलीले उर्लाबारी–आमबारी सडकखण्डमा उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनी ट्रक रोकी जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला पारेको हो।
प्रहरीका अनुसार ट्रकको पछाडिपट्टि धानको भुसा भरिएका बोरामुनि कालो प्लास्टिकमा प्याक गरेर लुकाइएका ३१ वटा पोकाभित्र १ हजार ३३ किलो ४८४ ग्राम तयारी गाँजा बरामद गरिएको छ।
घटनामा संलग्न ट्रक चालक धनकुटाको पाख्रीबास नगरपालिका–९, हिलेका २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरी गाँजा, मिनी ट्रकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

