काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८.६६६ किलोग्राम थाई गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखा गौचरबाट खटिएको प्रहरी टोलीले विदेशबाट नेपाल आउने यात्रुको प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरू थाई एयरवेजको उडान नम्बर टीजी ३०९ मार्फत थाइल्यान्डको बैंककबाट नेपाल आएका थिए। चेकजाँचका क्रममा उनीहरूले कस्मेटिक सामग्रीभित्र लुकाएर ल्याएको ८.६६६ किलोग्राम थाई गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्यका ३३ वर्षीय सिद्धनाथ उत्तम जाधव र २९ वर्षीय सोमनाथ शंकर खडके रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ८.६६६ किलोग्राम थाई गाँजा, दुई थान राहदानी (पासपोर्ट) र दुई थान मोबाइल फोन बरामद गरेको छ।
पक्राउ परेका दुवैमाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाही भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

