महोत्तरी - महोत्तरीको बर्दिबासबाट प्रहरीले मिनी ट्रकको फल्स बटममा लुकाएर ओसारपसार गर्दै गरेको ४५४ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले सिन्धुलीबाट महोत्तरीतर्फ आउँदै गरेको बा ४ ख ५६९२ नम्बरको मिनी ट्रकलाई बर्दिबास नगरपालिका–३ मा शंकास्पद अवस्थामा रोकी जाँच गरेको थियो।
जाँचका क्रममा ट्रकको छानामुनि फल्स बटम बनाई ६० वटा पोकामा लुकाएर राखिएको ४५४ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा ललितपुरको गोदावरी नगरपालिका–३ निवासी २६ वर्षीय विश्व तामाङलाई पक्राउ गरिएको छ। उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबासको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
प्रहरीले गाँजासहित मिनी ट्रक, चालक अनुमतिपत्र, सवारी दर्ता किताब तथा एउटा मोबाइल फोन पनि बरामद गरेको छ।

