Harsamaya
हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला
हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला ।

हेटौँडा - मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन् ।

प्रारम्भिक जानकारीअनुसार मृतकको पहिचान मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ चित्लाङ निवासी आसमान गोपालीका रूपमा भएको छ । 

घटनास्थलमा ठूलो मात्रामा रगत देखिएको छ भने घटनापछि मृतकसँगै रहेकी एक महिला फरार रहेको र उनको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री स्वयं घटनास्थलमा पुगेर अनुसन्धानको नेतृत्व गरिरहेका छन् ।

घटनास्थललाई सुरक्षा घेराभित्र राखी प्रमाण सङ्कलन, प्रत्यक्षदर्शीसँग सोधपुछ तथा अन्य अनुसन्धान कार्य तीव्र रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर राजु बिष्ट पनि घटनास्थलमा परिचालित छन् ।

हेटौँडा उपमहानगरपालिका–११ की वडा अध्यक्ष समेत घटनास्थलमा पुगेर मृतकका आफन्तसँग समन्वय र आवश्यक सहयोगमा जुटेकी छन् ।

प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । घटनाको वास्तविक कारण, फरार महिलाको संलग्नता तथा मृत्युको प्रकृतिबारे आधिकारिक निष्कर्ष आउन बाँकी छ ।

घटनाबारे थप विवरण प्रहरीले सार्वजनिक गर्नेक्रम जारी रहेको छ ।

प्रकाशित मिति: आइतबार, साउन १०, २०८३  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update