विराटनगर - मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका शिक्षकविरुद्ध भएको प्रदर्शन प्रकरणमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शिक्षकले विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोपपछि भएको प्रदर्शनको अनुसन्धानका क्रममा संलग्न देखिएका तीन जनालाई आइतबार बिहान नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भुजेल (सवारी चालक), वडा नं. २ का ३० वर्षीय किशोरलाल गच्छदार र वडा नं. १२ का ३५ वर्षीय अविरल मार्सेल रहेका छन्।
प्रहरीले घटनामा अन्य व्यक्तिको पनि संलग्नता खुलेकाले अनुसन्धान जारी रहेको जनाएको छ।
साथै, घटनाबारे सामाजिक सञ्जालमा आधारहीन तथा अनावश्यक टिप्पणी नगर्न सबैलाई आग्रह गर्दै कानुनविपरीत गतिविधिमा संलग्न जो–कोहीमाथि कानुनी कारबाही हुने चेतावनी दिएको छ।

