काठमाडौं - काठमाडौं उपत्यकामा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउका क्रममा भाग्न खोज्दा एक भारतीय नागरिकमाथि गोली प्रहार गरिएको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले आइतबार अपराह्न करिब ४:१० बजे काठमाडौं महानगरपालिका–१२ टेकु दोभान पुल नजिक भारतको रुपैडियाबाट काठमाडौं ल्याइएको ट्रामाडोल कारोबार भइरहेको सूचनाका आधारमा छापा मारेको थियो।
प्रहरीका अनुसार पक्राउ गर्न खोज्दा आरोपितहरूले प्रहरीमाथि आक्रमण गर्दै भाग्ने प्रयास गरे। चेतावनीस्वरूप हवाई फायर गरी रोक्न आग्रह गर्दा पनि नमानेपछि भारत, उत्तर प्रदेश रुपैडियाका २५ वर्षीय राज सोनीको दायाँ घुँडामा एक राउन्ड र बायाँ खुट्टाको घुँडामुनि एक राउन्ड गरी दुई राउन्ड गोली प्रहार गरिएको थियो। उनीसहित अन्य दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
गोली लागेर घाइते भएका राज सोनीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१७ का १९ वर्षीय निखिल सोनी र सुर्खेतको पञ्चपुरी नगरपालिका–५ की १९ वर्षीया सोफिया मगर पनि रहेका छन्।
उनीहरूको साथबाट ट्रामाडोल २४ हजार ७ सय क्याप्सुल र तीन थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

