दाङ - विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले शिक्षा अधिकृतमाथि मोबिल छर्किएको आरोपमा दाङको घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य उत्तम बुढाथोकी पक्राउ परेका छन्।
प्रहरीका अनुसार ४२ वर्षीय बुढाथोकीले असार २७ गते पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचनका क्रममा मतदान अधिकृतसमेत रहेका घोराही उपमहानगरपालिकाको शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोराले चलाएको मोटरसाइकल रोकेर उनको शरीरमा मोबिल छर्किएका थिए।
घटनापछि फरार रहेका बुढाथोकीविरुद्ध अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा असार २८ गते मुद्दा दर्ता गरिएको थियो।
त्यसपछि दाङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले आइतबार घोराही–१५ बाट लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

