Harsamaya
बालबालिकालाई फकाएर सुनका मुन्द्रा लुट्ने पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - झापामा विद्यालयमै पुगेर बालबालिकालाई फकाई कानमा लगाएका सुनका मुन्द्रा लुट्ने आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–९ रमाइलोका ३० वर्षीय विजय दर्जी रहेका छन्। उनलाई कनकाई नगरपालिका–३ सुरुङ्गाबाट सार्वजनिक बसमा यात्रा गरिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दर्जीले कनकाई नगरपालिका–३ का ११ वर्षीय प्रज्ज्वल श्रेष्ठसहित विभिन्न विद्यालयमा अध्ययनरत पाँच जना बालबालिकालाई फकाएर कानका सुनका मुन्द्रा लुटेका थिए।

पछिल्लो एक महिनायता कनकाई क्षेत्रमा एउटै शैलीमा बालबालिकाका मुन्द्रा लुटिने घटना दोहोरिन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको थियो। घटनास्थल आसपासका सिसिटिभी फुटेज र पीडित बालबालिकाको बयानका आधारमा सबै घटनामा एउटै व्यक्तिको संलग्नता देखिएपछि खोजी तीव्र पारिएको थियो।

प्रहरीले सार्वजनिक बसबाट दर्जीलाई पक्राउ गरेको हो। लुटिएका मुन्द्रा बिक्री–वितरणमा सहयोग गरेको आरोपमा उनकी आफन्त विमला सांसाकरलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असार २८, २०८३  २१:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update