सर्लाही - सर्लाहीको लालबन्दीमा गएराति एक मोबाइल व्यवसायीमाथि गोली प्रहार गर्दै लुटपाटको प्रयास भएको छ। व्यवसायीले साहसिक प्रतिकार गरेपछि लुटेरा समूह गोली चलाउँदै घटनास्थलबाट फरार भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लालबन्दी नगरपालिका–७ का हरिप्रसाद सापकोटा, जो लालबन्दी बजारमा मोबाइल पसल सञ्चालन गर्दै आएका छन्, राति पसल बन्द गरेर मोटरसाइकलमा घर फर्किरहेका बेला घटना भएको हो। लालबन्दी–७ र ३ को सीमास्थित सुनसान सडकमा मोटरसाइकलमा आएका तीन जना अज्ञात व्यक्तिले उनको बाटो छेकेर लुट्ने प्रयास गरेका थिए।
लुटेराको सामना गर्दै सापकोटाले प्रतिकार गरेपछि समूहले नलकटुवा पेस्तोलबाट गोली प्रहार गरी भागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
घटनास्थलबाट प्रहरीले नलकटुवा पेस्तोलबाट प्रहार गरिएको गोलीको खोका बरामद गरेको छ। गोली कसैलाई नलागेको र लुटपाट पनि असफल भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न तीन जनाको खोजी तीव्र पारेको जनाएको छ। घटनाको प्रकृति हेर्दा व्यवसायीलाई पूर्व निगरानी गरेर सुनसान स्थानमा पुगेपछि बाटो छेकी लुट्ने योजना बनाइएको हुन सक्ने आशंकासहित अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

