पाँचथर - पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का वडाध्यक्ष देउकुमार आङदेम्बे १५ वर्षीय बालकको मृत्यु प्रकरणमा पक्राउ परेका छन्।
प्रहरीका अनुसार वडाध्यक्ष आङदेम्बेको घरमा काम गर्दै आएका सोही स्थानका १५ वर्षीय टठेनहाङ आङदेम्बे २०८१ असार १४ गते नाक र मुखबाट रगत बगेको अवस्थामा सुतेकै स्थानमा मृत फेला परेका थिए।
घटनापछि मृतकका बुवा खेमबहादुर आङदेम्बेले ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएका थिए। त्यसपछि २०८३ असार ८ गते मृतककी आमा लालकुमारी चेम्जोङले पनि देउकुमार आङदेम्बेविरुद्ध कर्तव्य ज्यानको किटानी जाहेरी दर्ता गरेकी थिइन्।
जिल्ला अदालत पाँचथरले पक्राउ अनुमति जारी गरेपछि प्रहरीले असार २३ गते फिदिम बजारबाट वडाध्यक्ष आङदेम्बेलाई पक्राउ गरेको हो।
प्रहरीले उनलाई अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

