एजेन्सी - यमनको इरान समर्थित हुथी विद्रोही समूहले रेड सी तटीय क्षेत्रस्थित होडैडा बन्दरगाह नजिक गरेको आक्रमणमा १४ यमनी सैनिक मारिएका छन्।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारसँग निकट सैन्य अधिकारीका अनुसार शनिबार हेय्स जिल्लामा केही घण्टासम्म भीषण झडप भएको थियो।
सरकार समर्थक फौजले आक्रमणलाई नियन्त्रणमा लिएको जनाएको छ। झडपमा हुथी पक्षमा पनि हताहत भएको बताइए पनि त्यसको विवरण सार्वजनिक गरिएको छैन।
सन् २०१५ देखि हुथी विद्रोही र सरकारबीच जारी द्वन्द्वले यमनलाई गम्भीर मानवीय संकटमा धकेलेको छ। संयुक्त राष्ट्रसंघको पहलमा सन् २०२२ मा युद्धविराम भए पनि पछिल्ला दिनमा फेरि हिंसा बढ्न थालेको छ।
यसैबीच हुथी विद्रोहीले साउदी अरेबियाका विमानस्थल र अन्य महत्वपूर्ण संरचनामाथि आक्रमण गर्ने चेतावनी दिएका छन्। साउदी अरेबिया यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको प्रमुख समर्थक हो।

