Harsamaya

काठमाडौँ - रिमा केसी नेपाली साहित्य, सञ्चार र शिक्षाक्षेत्रसँग सक्रिय रूपमा जोडिएकी सर्जक हुन् । प्युठानकी उनी लामो समयदेखि काठमाडौंको शंखमूलमा बसोबास गर्दै आएकी छन् । कविता, गीत, गजल, कथा, लेख तथा समीक्षा लेखनमा सक्रिय रीमा आफूलाई मुख्यतः ‘लेखक’ भनेर चिनाउन रुचाउँछिन् । हाल उनी नेपाल टेलिभिजनमा गीत–संगीतसम्बन्धी कार्यक्रम सञ्चालन गर्छिन् । विशेषगरी प्रगतिशील, जनवादी तथा गीत–संगीतमार्फत देशका लागि उल्लेखनीय योगदान पुर्‍याएका तर अपेक्षित रूपमा चर्चामा नआएका सर्जक र कलाकारसँग अन्तर्वार्ता तथा संवाद गर्ने उनको कार्यक्रमको मुख्य उद्देश्य हो । यसका साथै उनी शिक्षाक्षेत्रमा पनि लामो समयदेखि आबद्ध छिन् । हाल काठमाडौं प्रज्ञा कुञ्ज स्कुल, नयाँ बानेश्वरमा प्रशासनिक जिम्मेवारी सम्हाल्दै आएकी छिन् । साहित्य, सञ्चार र शिक्षालाई सँगसँगै अघि बढाउँदै आएकी रीमा केसी बहुआयामिक प्रतिभाका रूपमा परिचित छिन् । उनले 'यात्रामा अक्षर' (२०७५ सालमा) , दोस्रो 'अमृता प्रितमका छानिएका कविता' र तेस्रो 'बगावतनामा' कविता संग्रह निकालेकी छिन् । उनै केसीसँग हर समयले गरेको कुराकानी ।

साहित्य लेखन कहिलेबाट सुरु भएको हो ? साहित्य लेख्न पर्छ भन्ने चेतना कहाँबाट जाग्यो ?
साहित्य त मलाई सानैदेखि मन पर्थ्यो। मेरो जन्म भारतमा भएको हो। बुवा भारतीय प्रहरी सेवामा हुनुहुन्थ्यो, त्यसैले मैले कक्षा ६ सम्मको पढाइ भारतमै गरेँ। त्यसपछि कक्षा ७ मा पढ्न नेपाल आएँ र प्युठानको सरकारी विद्यालयमा भर्ना भएँ ।

नेपाल आएपछि गाउँको खोलानाला, खेतबारी, वनजंगल, चराचुरुङ्गी र त्यहाँको वातावरणले मलाई निकै छोयो। म सानैदेखि अलि भावुक स्वभावकी थिएँ । त्यतिबेला रेडियो नेपाल सुन्नेबाहेक मनोरञ्जनका अरू खासै साधन थिएनन् । पढ्नका लागि पनि अहिलेजस्तो धेरै पुस्तक पाइँदैनथ्यो । त्यसैले नेपाली विषयको किताब हात परेपछि म एकै रातमा पूरै पढिसक्थेँ। त्यही क्रममा कविता जस्ता साना–साना सिर्जना पनि लेख्न थालेकी थिएँ, तर त्यो रुचि मनभित्रै सीमित थियो ।

पछि काठमाडौं आएँ । जीवनमा अरू सबैको जस्तै मैले पनि धेरै सङ्घर्ष गरेँ । फेसबुक आएपछि भने मनभित्र दबिएका भावना र सिर्जनाहरू कवितामार्फत लेख्न थालेँ । त्यही लेखन यात्राले बिस्तारै मलाई साहित्यको क्षेत्रमा अगाडि बढाउँदै आजको स्थानसम्म ल्याएको हो ।

लेखनमा कसबाट प्रभावित हुनु भयो ?
खासमा मैले देख्दै, सुन्दै र पढ्दै गर्दा धेरै कवि तथा लेखकहरू अरू कसैको सिर्जना वा प्रेरणाबाट प्रभावित भएर लेख्न थालेको सुनेकी छु । तर मेरो अनुभव भने अलिक फरक छ । मैले कसैको कविता पढेर वा कसैलाई आदर्श मानेर लेख्न सुरु गरेकी होइन ।

फेसबुकमा आफ्ना कविताहरू पोस्ट गर्न थालेपछि धेरैले मेरा कविताहरू पारिजात वा चाँदनी शाहका कवितासँग मिल्ने प्रतिक्रिया दिनुहुन्थ्यो । तर त्यतिबेला मलाई चाँदनी शाह को हुनुहुन्छ भन्ने नै थाहा थिएन । उहाँका गीत सुनेकी थिएँ, तर उहाँ नै रानी ऐश्वर्य हुनुहुन्छ भन्ने पनि थाहा थिएन । त्यसपछि मैले अनलाइनमा उहाँका कविताहरू खोजेर पढेँ । पारिजातको शिरिषको फूल पढेकी थिएँ, केही उपन्यास पनि पढेकी थिएँ, तर उहाँले कविता पनि लेख्नुहुन्छ भन्ने कुरा पछि मात्रै थाहा पाएँ र त्यसपछि उहाँका कविताहरू पनि पढेँ ।

त्यसैले मेरो लेखनको कुनै एउटा निश्चित प्रेरणाको स्रोत छैन । बिम्ब, प्रतीक र अलङ्कारजस्ता साहित्यिक पक्षबारे औपचारिक ज्ञान नहुँदै पनि मनमा आएका भावना स्वाभाविक रूपमा कवितामा उतार्न थालेकी थिएँ । त्यसैले मेरो लेखन आफ्नै अनुभूति र संवेदनाबाट सुरु भएको यात्रा हो ।

तपाइको कृति ‘बगावतनामा’कस्तो कृति हो र आफ्नु लेखनप्रतिको  कतिको सन्तुष्टि छ ?
मेरो ‘बगावतनामा’ तेस्रो कविता सङ्ग्रह हो । यसअघि २०७५ सालमा ‘यात्रामा अक्षर’ नामक पहिलो कविता सङ्ग्रह प्रकाशित भएको थियो । त्यसपछि २०७९ सालमा भारतीय चर्चित कवि अमृता प्रितमका ‘छानिएका कविता’ नेपालीमा अनुवाद गरेर प्रकाशित गरेँ । ‘बगावतनामा’का कविताहरू समकालीन समाज, राजनीति, परिवेश र समयको यथार्थ बोल्ने कविताहरू हुन् । हामी बाँचेको समय, समाज र युगका अनुभूतिलाई यस सङ्ग्रहमार्फत अभिव्यक्त गर्ने प्रयास गरेको छु ।

लेखनमा सन्तुष्टि भन्ने कुरा लेखकका लागि सायद कहिल्यै पूर्ण हुँदैन । म आफैँ पनि आफूले लेखेका सबै कुरामा सन्तुष्ट हुँदिनँ । कतिपय रचना फालिदिन्छु, कतिपयलाई पटक–पटक सम्पादन गर्छु, अनि केही भने एकै बसाइमा पनि लेखिन्छन् । समग्रमा हेर्दा अहिलेको पुस्ता, समय र समाजलाई समेट्ने लेखन गर्ने प्रयास गरिरहेकी छु। मलाई लाग्छ, मानिस जुन धरातलबाट आएको हुन्छ, जस्तो जीवन बाँचेको हुन्छ र जस्ता सङ्घर्ष भोगेको हुन्छ, अन्ततः उसले त्यही भोगाइ, आफ्ना अनुभूति र समाजमा देखेका यथार्थलाई नै लेख्छ । मेरो लेखन पनि त्यही जीवन, समय र समाजको प्रतिबिम्ब हो ।

तपाईंलाई साहित्य लेख्नुपर्ने बाध्यता कतिबेला महसुस हुन्छ र के कुराले प्रेरणा दिन्छ ?
म आज यही विषयमा लेख्छु भनेर बस्ने लेखक होइन । कुनै घटना, दृश्य, मान्छे, वातावरण वा कुनै कुराले गहिरो रूपमा छोयो भने मात्रै लेख्न मन लाग्छ । मेरो ‘बगावतनामा’ कविता सङ्ग्रहलाई पनि चार भागमा विभाजन गरेको छु । त्यसमा ‘मुना कविता’, ‘दृश्य–परिदृश्य’, ‘प्रेमाङ्कुरण’ र ‘विद्रोहको रङ’ शीर्षकमा कविताहरू राखिएका छन् । उदाहरणका लागि ‘दृश्य–परिदृश्य’ खण्डका पाँच वटा कविता सामाजिक सञ्जालमा देखिएका केही तस्बिरहरूले गहिरो प्रभाव पारेपछि लेखिएका हुन् ।

मेरो लेखन कुनै निश्चित समय वा योजनामा सीमित हुँदैन । बाटोमा हिँड्दा कुनै दृश्यले छोयो भने त्यहीँबाट कविता जन्मिन्छ । कुनै मान्छे, कुनै वातावरण वा कुनै अनुभूतिले पनि लेख्न प्रेरित गर्छ । कहिलेकाहीँ राति १२ बजे निद्रा नलागेर कुनै विचार दिमागमा क्लिक भयो भने पनि उठेर लेख्न थाल्छु । मेरो लागि कविता जुनसुकै अनुभूति र जुनसुकै क्षणबाट जन्मिन सक्छ ।

आगामी दिनमा कस्ता खालको साहित्य लेखनको योजना छ ?
आगामी दिनमा पनि म लेखनलाई नै निरन्तरता दिन्छु । मेरो लागि लेखन भनेको आफ्नो भावना, विचार र आवाज अभिव्यक्त गर्ने माध्यम हो । जसरी गायकले गीतमार्फत आफ्नो आवाज सुनाउँछन्, त्यसरी नै म शब्दमार्फत आफ्ना अनुभूति र समयको आवाज बोल्ने प्रयास गर्छु । त्यसैले आगामी दिनमा पनि समय, समाज, अवस्था र युगका विषयहरू नै मेरो लेखनका केन्द्रमा रहनेछन् ।

वर्तमान समयमा लेखकहरुले आफ्नो दायित्व कतिको महसुस गरेका छन् कि छैनन् ?  राष्ट्रप्रति तपाईंले दायित्व निर्वाह गर्नु भएको छ  ?
अरू लेखकहरूले आफ्नो दायित्व कति पूरा गरेका छन् भन्ने विषयमा म टिप्पणी गर्न चाहन्न । तर मेरो बुझाइमा लेखकहरू सचेत हुन्छन् र राष्ट्र, समाज तथा समयप्रतिको उत्तरदायित्वबोधका साथ लेख्छन् । म पनि आफूलाई त्यही जिम्मेवारी महसुस गर्ने लेखकका रूपमा लिन्छु । मैले पनि देश, राज्य र समाजभन्दा अलग भएर लेख्दिनँ । मेरो लेखन सधैं समाज, समय र राष्ट्रसँग जोडिएका विषयहरूकै वरिपरि केन्द्रित रहनेछ ।

नयाँ लेखकहरुलाई तपाईंको सुझाव छन् ?
लेखकहरूलाई राय–सुझाव दिनुभन्दा पनि म एउटा कुरा भन्न चाहन्छु । कोही धेरै पढेर लेखक बन्छन् भने कोही जीवनका भोगाइ र अनुभवबाट लेखक बन्छन् । तर अध्ययन भने अनिवार्य छ । आफ्ना सिर्जना कस्ता छन् भनेर बुझ्नका लागि पनि अरूका साहित्य, अझ विश्व साहित्य पढ्न आवश्यक हुन्छ ।

Rima-KC-1-1768063932.jpg
साहित्यकार रिमा केसी । तस्वीर : हर समय/Har Samaya

हामीलाई केही थाहा नै छैन भने कसरी लेख्ने । अध्ययनले ज्ञान दिन्छ र त्यही ज्ञानका आधारमा कल्पनालाई पनि विस्तार गर्न सकिन्छ । मेरा केही कविताहरू र कथाहरू पनि पूर्ण रूपमा काल्पनिक छन् । तर कल्पनालाई विश्वासिलो ढंगले प्रस्तुत गर्न पनि अध्ययनको आधार चाहिन्छ । त्यसैले लेख्न चाहने सबैलाई मेरो सुझाव यही हो धेरै पढ्नुस्, धेरै सिक्नुस्, अनि आफ्ना अनुभव र कल्पनालाई शब्दमा उतार्नुस् ।

किन कोही स्रष्टा दलको झण्डामुनि ओत लाग्ने रहर गर्छन् ? तपाईंको त्यस्तो केही रहर छन् ?
त्यो त प्रत्येक व्यक्तिको आफ्नै विचार हुन्छ । म भने कुनै पार्टीको झण्डामुनि बसेर वा कुनै राजनीतिक विचारधाराको सीमाभित्र रहेर लेख्दिनँ । म आफूलाई स्वतन्त्र लेखकका रूपमा हेर्छु । किनभने मलाई स्वतन्त्रता मन पर्छ ।

मेरो कविता सङ्ग्रहको शीर्षक नै ‘बगावतनामा’ हो । जसले स्वतन्त्र सोच र विद्रोही चेतनाको प्रतिनिधित्व गर्छ । मान्छे स्वभावैले चराजस्तै स्वतन्त्र भएर उड्न चाहन्छ । त्यसैले कुनै बन्धनमा बाँधिएर लेख्नुभन्दा स्वतन्त्र रूपमा आफ्नो विचार र अनुभूति व्यक्त गर्न नै म रुचाउँछु । राजनीति पनि एक प्रकारको अनुशासन र सीमाभित्र रहने विषय हो, तर म त्यस्तो सीमामा बाँधिएर सिर्जना गर्न चाहन्न ।

तपाईंका पुस्तकबारे भनिदिनुन् ।
हालसम्म मेरा तीनवटा पुस्तक प्रकाशित भएका छन् । २०७५ सालमा प्रकाशित ‘यात्रामा अक्षर’ मेरो पहिलो कविता सङ्ग्रह हो, जुन शिखा बुक्सबाट प्रकाशित भएको थियो । त्यसपछि भारतीय चर्चित कवि अमृता प्रितमका ‘छानिएका कविता’ नेपालीमा अनुवाद गरेर प्रकाशित गरेँ, जुन इन्डिगो इन्कबाट आएको हो । मेरो तेस्रो तथा पछिल्लो कविता सङ्ग्रह ‘बगावतनामा’ पनि इन्डिगो इन्कबाट नै प्रकाशित भएको छ । यी पुस्तकहरू पाठकहरूले पहिलो पुस्तक शिखा बुक्सबाट तथा दोस्रो र तेस्रो पुस्तक इन्डिगो इन्कबाट प्राप्त गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: बुधबार, असार १७, २०८३  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update