Harsamaya
झापा र इलामका चिया उद्योग सरकारी आश्वासनपछि खुले
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाल चिया उत्पादक संघले बन्द रहेका चिया उद्योग आजदेखि पुनःसञ्चालन गर्ने तथा बन्दका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ ।
 
भारततर्फ चिया निर्यातमा देखिएको समस्याका कारण बन्द गरिएका झापा र इलामका चिया उद्योग आजदेखि पुनःसञ्चालनमा ल्याइने भएका हुन् ।

नेपाल चिया उत्पादक सङ्घले आज जारी गरेको विज्ञप्तिमा सरकारबाट चिया क्षेत्रका समस्यालाई समाधान गर्ने आश्वासन प्राप्त भएपछि उद्योग पुनःसञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ ।

‘चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक समस्या समाधान गर्न, किसानले भोग्दै आएका समस्या पहिचान र नेपाली चियाको अन्तरराष्ट्रिय बजार प्रवद्र्धन गर्ने दीर्घकालीन जिम्मेवारीसहित सरकारले विशेष कार्यदल गठन गरेको कार्यदललाई सङ्घले सकारात्मक रुपमा लिएको छ’, विज्ञप्तिमा उल्लेख छ, ‘अतःसरकारको सकारात्मक पहललाई सम्मान गर्ने र चिया क्षेत्र खुला गर्ने निर्णय गरिएको छ ।’

भारतीय चिया बोर्डले लागू गरेको नयाँ एसओपीका कारण नेपाली चिया निर्यातमा अवरोध उत्पन्न भएपछि उद्योगीहरूले उद्योग बन्द गरेका थिए ।

यही असार ८ गते सरकारले चिया निर्यातमा देखिएको समस्या अध्ययन गरी समाधानका उपाय सुझाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

 सङ्घले कार्यदल गठन तथा सरकारको पहललाई सकारात्मक रूपमा लिँदै किसान र मजदुरको हितलाई ध्यानमा राखेर उद्योग सञ्चालनमा ल्याउने निर्णय गरिएको जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  २१:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update