रौतहट - आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्तिलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा रौतहट फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ पेटभर्वा टोल बस्ने ४२ वर्षीय महन्थ राय यादव रहेका छन् ।
यादवले गत जेठ ३ गते आफ्नै सुत्ने कोठामा ३२ वर्षीया श्रीमती आरती देवी यादवलाई धारिलो हतियार (बन्चरो) प्रयोग गरी हत्या गरेका थिए । हत्या गरे लगत्तै उनी फरार भएका थिए ।
घटना घटेदेखि नै प्रहरीले उनको निरन्तर खोजतलास गरिरहेको थियो । प्राविधिक विश्लेषण समेतका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र मातहत इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई फतुवा विजयपुर नगरपालिका वडा नम्बर ८ विजयपुरबाट नियन्त्रणमा लिन सफल भएको हो ।
पक्राउ परेका यादवमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बसन्त गौतमले जानकारी दिए ।

