Harsamaya
युवतीलाई खुकुरी देखाएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने रमेश लागुऔषधसहित पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

दाङ - तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ परेका छन्।

प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरले करिब तीन महिनाअघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाउँदै डर–धम्की दिई कुटपिट गरेका थिए। उक्त घटनाको भिडियो उनले मंगलबार बेलुका करिब ८:३० बजे आफ्नै फेसबुक आईडीमार्फत सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।

भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले राति करिब १०:४० बजे मगरलाई उनकै घरबाट नियन्त्रणमा लिएको हो।

प्रहरीले उनको साथबाट लागुऔषधजन्य औषधि प्रिगाम्याक्स १ ट्याब्लेट, ट्रोह्मो ४१ ट्याब्लेट, एन्टिकोप २ ट्याब्लेट र नाइट्राजोह्म ५ ट्याब्लेट बरामद गरेको जनाएको छ।

यसै क्रममा तुलसीपुर–२ बालापुर निवासी २१ वर्षीय जिबराज खत्रीलाई पनि नियन्त्रणमा लिइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असार ३, २०८३  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update