काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको आर्थिक विधेयकमार्फत् विभिन्न वस्तुमा लाग्ने अन्तःशुल्क दर संशोधन गरेको छ। सरकारले ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरे पनि मदिरा, सुर्तीजन्य पदार्थ, जङ्क फुड, इनर्जी ड्रिङ्क, हल्का पेय पदार्थ, जुस तथा रङरोगनसम्बन्धी सामग्रीमा भने कर बढाएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विधेयकअनुसार गुड, सख्खर भेली र उखुको खुदोमा अन्तःशुल्क वृद्धि गरिएको छ। चुइगम, चकलेटजन्य वस्तु, पास्ता तथा स्पागेटीजस्ता प्रशोधित खाद्य सामग्रीमा पनि कर बढाइएको छ।
जङ्क फुडतर्फ कुरकुरे, चिजबल, लेजलगायत स्न्याक्समा लाग्ने अन्तःशुल्क प्रतिकिलो २० रुपैयाँबाट बढाएर ७५ रुपैयाँ पुर्याइएको छ। आलु चिप्समा लाग्ने अन्तःशुल्क पनि प्रतिकिलो १८ रुपैयाँबाट बढाएर ३० रुपैयाँ बनाइएको छ। केक, बिस्कुट, कुकिज, पेस्ट्री, वेफरलगायत बेकरी उत्पादनमा समेत कर वृद्धि गरिएको छ।
फलफूलका जुसमा प्रतिलिटर १३ रुपैयाँ ५० पैसाबाट बढाएर १४ रुपैयाँ अन्तःशुल्क कायम गरिएको छ। अल्कोहलरहित बियरमा भने कर शतप्रतिशत वृद्धि गर्दै प्रतिलिटर ४५ रुपैयाँबाट ९० रुपैयाँ पुर्याइएको छ। इनर्जी ड्रिङ्कमा लाग्ने अन्तःशुल्क ५२ रुपैयाँबाट बढाएर १२० रुपैयाँ तथा हल्का पेय पदार्थमा २५ रुपैयाँबाट ६० रुपैयाँ बनाइएको छ।
मदिराजन्य पदार्थमा पनि अन्तःशुल्क वृद्धि गरिएको छ। बियर, वाइन, कक्टेल तथा जडिबुटी मिश्रित मदिरामा कर बढाइएको छ भने सेम्पेन, सेरी, मिड र साइडरमा भने केही राहत दिँदै अन्तःशुल्क घटाइएको छ।
सुर्तीजन्य वस्तुमा पनि सरकारले थप करको भार बढाएको छ। सिगार, सेरुट, चुरोट तथा अन्य सुर्तीजन्य उत्पादनमा अन्तःशुल्क वृद्धि गरिएको छ। सुर्तीरहित पान मसला र सुगन्धित सुपारीमा समेत उल्लेख्य रूपमा कर बढाइएको छ।
निर्माण तथा सजावटसँग सम्बन्धित वस्तु पनि कर वृद्धिको सूचीमा परेका छन्। पेन्ट, इनामेल, थर्मोप्लास्टिक पेन्ट तथा फ्लोर कभरिङ सामग्रीमा लाग्ने अन्तःशुल्क दर बढाइएको छ।
सरकारले स्वास्थ्यमा असर पार्ने, आयातमुखी तथा विलासितासँग सम्बन्धित वस्तुको उपभोग निरुत्साहित गर्न र राजस्व वृद्धि गर्न अन्तःशुल्क दर पुनरावलोकन गरिएको जनाएको छ।

