काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र सदनमा उपस्थित हुने जानकारी सदनलाई गराएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकमा पनि बिपक्षी सांसदहरुले विरोध जनाएपछि रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री शाह एक साताभित्र सदनमा उपस्थित हुने जानकारी गराएका हुन् ।
संसदलाई सहज रुपमा अघि बढाउने सन्दर्भमा एक साताभित्र प्रधानमन्त्री आउने निश्चित भएको उनले बताए ।
बुर्लाकोटीले प्रधानमन्त्री आउने जानकारी गराएपछि नेकपा एमालेकी संसदीय दलका उपनेता पद्मा अर्यालले सभामुखले कार्यव्यवस्था परामर्श समितिमा भएको समझदारीअनुसार बैठकमा सत्तापक्षको प्रस्तुति नआएको आरोप लगाइन् ।
उनले संसद सरकारको भजन गाउने थलो नभएको भन्दै सरकारलाई सदनप्रति उत्तरदायी बनाउने जिम्मेवारी पुरा गरेको बताइन् ।
त्यस्तै अन्य बिपक्षी सांसदहरुले पनि प्रधानमन्त्री आउने जानकारी अनुसार सभामुखको कुर्सीबाट रुलिङको माग गरेका थिए । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री सदनमा आउने बिषयमा रास्वपाबाट जानकारी प्राप्त भएकाले सहज रुपमा सदन अघि बढाउन आग्रह गरेका थिए ।
सभामुखको आग्रहपछि बिपक्षी दलका सांसदहरुले सदनको अवरोध हटाएर बिधेयकमाथिको छलफलमा भाग लिएका छन् ।

