Harsamaya
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने राष्ट्रपतिलाई सम्बोधन गरिदिन आग्रह
प्रधानमन्त्री बालेन्द्र शाह ।

काठमाडौं -  प्रधानमन्त्री बालेन्द्र शाहले आगामी गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा सम्बोधन नगर्ने भएका छन् ।

प्रधानमन्त्री शाहले गणतन्त्र दिवसको विशेष समारोहलाई रामचन्द्र पौडेलबाटै सम्बोधन गराउन आग्रह गर्दै राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् । उक्त निर्णय मन्त्रिपरिषद् बैठकबाटै गराइएको स्रोतले जनाएको छ ।

राष्ट्रपतिलाई पठाइएको पत्रमा संविधानको धारा ६६ को उपधारा (२) बमोजिम जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजना हुने विशेष समारोहलाई सम्बोधन गरिदिन सिफारिस गरिएको उल्लेख छ ।

संविधानको धारा ६६ को उपधारा (२) मा राष्ट्रपतिबाट सम्पादन हुने कार्य मन्त्रिपरिषद्को सिफारिस तथा सम्मतिबाट हुने व्यवस्था गरिएको छ । सोही संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष प्रस्ताव पठाइएको जनाइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री शाहले यसअघि पनि राष्ट्रपतिलाई गणतन्त्रको प्रतीकका रूपमा प्रस्तुत गर्दै गणतन्त्र दिवसमा राष्ट्रपतिबाटै विशेष सम्बोधन गराउने इच्छा व्यक्त गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्य सचिव सुमनराज अर्यालले पनि राष्ट्रपति कार्यालयलाई प्रधानमन्त्री शाह गणतन्त्र दिवसमा सम्बोधन गर्न इच्छुक नरहेको जानकारी गराएको बताइएको छ ।

यससँगै गणतन्त्र दिवस समारोहमा राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले सम्बोधन गर्ने विगतको परम्परा परिवर्तन हुने संकेत देखिएको छ । सिंहदरबार स्रोतका अनुसार प्रधानमन्त्री शाहले गणतन्त्र दिवसलाई राष्ट्रपतिको संस्थासँग थप जोड्ने सोचका साथ यस्तो निर्णय गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update