Harsamaya
पोखरा–३३ मा ‘गाउँघर एग्रो फर्म’ स्थापना, पाँच करोड लगानी लक्ष्य
‘गाउँघर एग्रो फर्म प्रा.लि’ ।

पोखरा - वैदेशिक रोजगारीको बढ्दो आकर्षण, गाउँघरमा खेतीयोग्य जमिन बाँझिने समस्या तथा युवाहरू शहर केन्द्रित हुने प्रवृत्तिलाई रोक्ने उद्देश्यसहित कास्कीको गैरागाउँमा ‘गाउँघर एग्रो फर्म प्रा.लि’ स्थापना गरिने भएको छ ।

पछिल्लो समय अधिकांश युवाहरू वैदेशिक रोजगारीका लागि विदेश पलायन हुने तथा गाउँमा रहेका अन्य युवाहरू पनि रोजगारी र व्यवसायको खोजीमा शहर केन्द्रित हुने क्रम बढ्दै गएको अवस्थामा गाउँका मौलिक घर, खेतीयोग्य जमिन र बस्तीहरू खाली हुँदै गएका छन्। यही अवस्थालाई परिवर्तन गर्दै गाउँमै रोजगारी, उत्पादन र व्यवसायको वातावरण सिर्जना गरी युवाहरूलाई पुनः गाउँ फर्काउने उद्देश्यसहित १० जना जागरुक तथा समाजसेवी युवाहरूको संयुक्त पहलमा उक्त फर्म स्थापना गर्न लागिएको हो।

फर्मका अध्यक्ष विजय प्रसाद आचार्यका अनुसार गाउँमै आधुनिक कृषि प्रणालीमार्फत उत्पादन वृद्धि, स्वरोजगार सिर्जना तथा सामूहिक उद्यमशीलता विकास गर्ने लक्ष्य राखिएको छ।

‘गाउँमा सम्भावना हुँदाहुँदै पनि युवाहरू विदेश र शहरतिर पलायन भइरहेका छन्। बाँझो जमिनलाई उत्पादनमा जोड्दै गाउँमै सम्मानजनक आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेका हौं,’ उनले बताए।

हाल १० जना युवाहरूको सक्रियतामा फर्म सञ्चालनको तयारी भइरहेको भए पनि आगामी दिनमा गाउँका अन्य युवाहरूलाई समेत समेट्दै यस अभियानलाई अझ व्यापक बनाइने योजना रहेको अध्यक्ष आचार्यले जानकारी दिए। उनका अनुसार सामूहिक कृषि प्रणालीमार्फत गाउँमै रोजगारी सिर्जना गर्दै युवाहरूलाई स्वरोजगारतर्फ प्रेरित गरिनेछ।

उनका अनुसार प्रारम्भिक चरणमा ५० वटा उन्नत गाई पालन, दुग्ध उत्पादन, फलफूल खेती तथा उन्नत कृषि प्रणालीमार्फत व्यवसाय सुरु गरिनेछ। आगामी दिनमा पंक्षीपालन, जडिबुटी खेती, तरकारी उत्पादन तथा कृषि प्रशोधन उद्योगसमेत विस्तार गरिने योजना रहेको छ।

फर्मले भविष्यमा करिब पाँच करोड रुपैयाँ बराबरको लगानी पुर्‍याउने लक्ष्य लिएको छ। उत्पादित सम्पूर्ण वस्तुहरू प्रशोधन गरी आफ्नै ब्रान्डमार्फत बजारिकरण गर्ने योजना बनाइएको अध्यक्ष आचार्यले जानकारी दिए।

हाल गाउँमा बाँझो अवस्थामा रहेका करिब २०० रोपनी जग्गा लिजमा लिएर कृषि तथा पशुपालनको पूर्वतयारी सुरु गरिएको छ। उक्त क्षेत्रमा घाँस खेती, फलफूलका बिरुवा रोप्ने, सिंचाइ व्यवस्थापन तथा कृषि पूर्वाधार निर्माणको काम भइरहेको जनाइएको छ।

यस अभियानलाई पोखरा महानगरपालिका कृषि तथा पशु महाशाखा, पशु सेवा कार्यालय, प्रदेश कृषि मन्त्रालय तथा भूमि व्यवस्था मन्त्रालय लगायत सम्बन्धित निकाय तथा कृषि एवं पशु विज्ञहरूको प्राविधिक परामर्श र सहयोग प्राप्त भइरहेको बताइएको छ।

स्थानीयवासीहरूले पनि गाउँमै कृषि र पशुपालनमा आधारित ठूलो परियोजना सुरु हुन लागेकामा उत्साह व्यक्त गरेका छन्। उनीहरूका अनुसार यस्तो अभियानले बाँझो जमिनको सदुपयोग हुनुका साथै गाउँको आर्थिक गतिविधि चलायमान बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update