Harsamaya
बाँकेमा एक महिनामा २०५ अपराधका मुद्दा दर्ता
प्रतिकात्मक तस्वीर : हर समय/Har Samaya

नेपालगञ्ज - प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५ मुद्दा दर्ता गरेको छ । 

जिल्ला प्रहरी कार्यालय, बाँकेले आज जिल्लाभरको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै गत वैशाख महिनामा मात्रै ती मुद्दा दर्ता भएको जनाएको हो । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले प्रहरीमा दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर प्रकृतिका १० तथा ६१ वटा र सामान्य अपराधअन्तर्गतका १३४ वटा रहेको जानकारी दिए । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित नौ वटा घटनामा ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, आर्थिक अपराधसम्बन्धी ३४ वटा घटना प्रहरीमा दर्ता भएका छन् । चालु मुद्दाका प्रतिवादी पक्राउ अभियानअन्तर्गत वैशाख महिनामा १८७ जना पक्राउ परेका छन्। 

सार्वजनिक चासो रहेका १९ वटा ‘पेन्डिङ’ मुद्दाको सफल अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक पातलीले बताए । यस अवधिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी एक वटा मुद्दासमेत दर्ता भएको जानकारी दिइएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयन अभियानअन्तर्गत वैशाख महिनामा ७६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ। उनका अनुसार पक्राउ परेका प्रतिवादीबाट कुल १० वर्ष दुई महिना २० दिन कैद सजाय कार्यान्वयन बाँकी छ । 

उनीहरूलाई अदालतबाट तोकिएको ४७ लाख २७ हजार ४३० बिगो तथा क्षतिपूर्ति रकम असुलका लागि पक्राउ परेकालाई अदालत बुझाइएको छ। 

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  ०७:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update