Harsamaya
स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै नेपाल भित्रियो
 महालेखापरीक्षकको कार्यालय । तस्वीर : हर समय/Har Samaya

काठमाडौं -  महालेखापरीक्षकको कार्यालय को ३३औँ वार्षिक प्रतिवेदनले नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक लगानी भित्रिने दर निकै न्यून रहेको देखाएको छ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा एक हजार नौ विदेशी लगानीकर्ताबाट ७९ अर्ब ६९ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव स्वीकृत भएको थियो। तर, त्यसमध्ये जम्मा ९७ लगानीकर्ताबाट मात्रै ११ अर्ब ३० करोड रुपैयाँ नेपाल भित्रिएको छ। यो कुल स्वीकृत लगानीको करिब १४ प्रतिशत मात्रै हो।

प्रतिवेदनले पछिल्ला वर्षहरूमा वैदेशिक लगानीको प्रतिबद्धता र वास्तविक प्राप्तिबीचको अन्तर झन् बढ्दै गएको देखाएको छ। आर्थिक वर्ष २०७९/८० मा ३२ अर्ब ४८ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव स्वीकृत भएकामा ९ अर्ब २० करोड रुपैयाँ मात्रै प्राप्त भएको थियो, जुन करिब २८ प्रतिशत हो।

त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा ८१ अर्ब ६९ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भए पनि १० अर्ब २९ करोड रुपैयाँ मात्रै नेपाल भित्रिएको थियो। उक्त वर्ष वास्तविक लगानी स्वीकृत रकमको करिब १३ प्रतिशत मात्रै रहेको प्रतिवेदनमा उल्लेख छ।

महालेखापरीक्षकको कार्यालयले वैदेशिक लगानीको प्रतिबद्धतालाई वास्तविक लगानीमा रूपान्तरण गर्न नीतिगत स्थायित्व कायम गर्न, प्रशासनिक प्रक्रिया सरल बनाउन तथा लगानीमैत्री वातावरण निर्माण गर्न सम्बन्धित निकायलाई सुझाव दिएको छ।

प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३  २१:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update