Harsamaya
ग्रिस र यूएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुईजना पक्राउ
प्रतिकात्मक तस्वीरः हर समय/harsamaya

काठमाडौं- वैदेशिक रोजगारका लागि ग्रिस र यूएई पठाउने भन्दै २६ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुम्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन पराजुली तथा पर्वत कुश्मा नगरपालिका–२ का ३२ वर्षीय प्रकाश बाँस्तोला रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । 

'पक्राउ परेकामध्ये मधुसुदन पराजुलीले ग्रिस पठाउने भन्दै रु २३ लाख तथा प्रकाश बाँस्तोलाले यूएई पठाउने भन्दै तीन लाख रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो,' उनले भने । दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता कार्कीले बताए । 

पछिल्लो समय वैदेशिक रोजगारका नाममा ठगीका घटना बढ्दै गएको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । आकर्षक तलब र छिटो विदेश पठाइदिने प्रलोभनमा नपरी आधिकारिक प्रक्रियामार्फत मात्रै वैदेशिक रोजगारमा जान सुझाव दिएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३  ०७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update