Harsamaya
एम्बुलेन्समा करिब साढे चार सय किलो गाँजा फेला, चालक फरार
एम्बुलेन्समा गाजा ।

विराटनगर - सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट प्रहरीले करीब साढे चार सय किलोग्राम गाँजा सहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।

मंगलबार राति इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा को १ च ७३५९ नम्बरको एम्बुलेन्सलाई रोकी जाँच गर्दा प्लास्टिकको बोरामा प्याक गरी राखिएको ४४० किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद गाँजाको तौल ४४० किलोग्राम रहेको छ । गाँजा फेला परेपछि एम्बुलेन्स चालक तथा घटनामा संलग्न अन्य व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट उक्त एम्बुलेन्स धरानस्थित बुढासुब्बा डाइग्नोष्टिक सेन्टर प्रा।लि।द्वारा सञ्चालन हुँदै आएको खुल्न आएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले लागूऔषधको उत्पादन, सञ्चय, ओसारपसार, बेचबिखन तथा सेवन कानुन अनुसार दण्डनीय अपराध भएकाले यस्ता गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update