Harsamaya
सशस्त्रका महानिरीक्षक राजु अर्यालको बिदाइ
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल।

काठमाडौं - चार वर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई फौजी परम्पराअनुसार बिदाइ गरिएको छ । 

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आज आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई सङ्गठन प्रमुखको छडी र सङ्गठनको झण्डा हस्तान्तरण गरे । सोही अवसरमा अर्यालले नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई सङ्गठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गरे ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा सङ्गठनको सर्वोच्च तहमा पुग्नु र सफलतापूर्वक अवकाश हुनुलाई जीवनको महत्त्वपूर्ण उपलब्धिका रूपमा चित्रण गरे । 

सङ्गठन सुधार केवल एक प्रमुखको कार्यकालमा सुरु भएर अर्को प्रमुखको कार्यकालमा सकिने विषय नभई निरन्तर चलिरहने प्रक्रिया भएको उल्लेख गर्दै उनले राष्ट्र, सङ्गठन र जनताको सुरक्षासँगै मातहत कर्मचारीको हितलाई सर्वोपरी राखी आफूले काम गरेको बताए । 

त्यस अवसरमा नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सङ्गठनमा स्थापित मूल्य, मान्यता र परम्परालाई अझ सुदृढ गर्दै सशस्त्र प्रहरीलाई आधुनिक, सक्षम, व्यावसायिक र जनउत्तरदायी सङ्गठनका रुपमा निरन्तर अघि बढाइने बताए । 

उनले सङ्गठन विकास, सुदृढीकरण र संस्थागत सबलीकरणका लागि अघि सारिएका सुशासन, पारदर्शिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिलाई दीर्घकालीन मार्गदर्शनका रूपमा स्थापित गरिने बताए ।  
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १८, २०८३  २०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update