राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशका बारेमा राष्ट्रपति भवन शीतल निवासमा संविधानविद् तथा कानुनविदहरूसँग परामर्श गरेका छन् । बिहीबार भएको परामर्शमा कानुनविद्हरू बद्रिबहादुर कार्की, महादेव यादव, पूर्णमान शाक्य, भिमार्जुन आचार्य र टिकाराम भट्टराई सहभागि भएका थिए । संविधानविद्हरूले प्रधानमन्त्री बालेन तथा संसद्मा प्रतिनिधित्व गर्ने दलसँग छलफल गरेर अध्यादेश सम्बन्धमा निर्णय लिन राष्ट्रपतिलाई सुझाव दिएका छन् । संविधानको सीमाभित्र रहेर उपयुक्त निर्णय लिन उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई सुझाव दिएका हुन् ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी: राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन् । उनले आजमात्र दुई अध्यादेश जारी गरेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका हुन् । यस्तै आजै उनले सार्वजनिक खरिद(दोस्रो संसोधन) अध्यादेश २०८३ पनि जारी गरेका हुन् । सरकारले करिव आधा दर्जन अध्यादेश पठाएको छ । त्यसमध्ये उनले २ मात्र अध्यादेश जारी गरेका छन् । आजै उनले संविधानविद्हरुसँग पनि छलफल गरेका छन् ।
रोल्पा दुर्घटना अपटेडः रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । उद्धार तथा खोजतलासका क्रममा २० जनाको शव घटनास्थलमा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परी रुकुम पुर्वका सिस्ने गाउँपालिका-५ का ३२ वर्षीय समिर कामी घाइते भएका छन् । उनको आधारभूत जलजला अस्पताल थवाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
रिंकुकुमारी हत्या प्रकरणः नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कार र त्यसपछिको शङ्कास्पद मृत्युसम्बन्धी घटनामा सिरहा जिल्ला अदालतले फैसला सुनाएको छ । मुद्दा दर्ता भएको १३ महिना १० दिनपछि जिल्ला अदालतका मुख्य न्यायाधीश डा श्रीप्रकाश उप्रेतीको एकल इजलासले वडासदस्यसहित १४ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको अदालतका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत राधेश्याम यादवले जानकारी दिए। अदालतले बलात्कारमा संलग्न, सहयोगी र घटना लुकाउन पञ्चायती गर्नेहरूलाई फरक–फरक सजाय तोकेको छ ।
सरकारको प्रष्टिकरणः सरकारले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित रूपमा व्यवस्थापन गरेपछि मात्रै अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने प्रक्रिया अगाडि बढाउने आफ्नो योजना रहेको र यसमा सरकार दृढ रहेको स्पष्ट पारेको छ। वास्तविक सुकुम्बासीहरूमा पर्न गएको त्रासप्रति सचेत रहँदै, सरकारले उनीहरूलाई ढुक्क हुन आग्रह गरेको छ। सरकारले वर्षायाम सुरु हुन लागेको सन्दर्भमा प्रत्येक वर्ष बाढी तथा डुबानको चपेटामा पर्ने काठमाडौं उपत्यकाका बागमती र त्यसका सहायक नदी किनारका जोखिमपूर्ण बस्तीलाई लक्षित गरी २०८३ वैशाख १२ गतेदेखि विशेष अभियान सुरु गरेको हो।
सुनचान्दीको मूल्य घट्यो: नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतिलोला १८ सयले घटेर २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतिताला ४ हजार ८१० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कायम भएको थियो ।
डा. शेखर कोइरालाले गरे बागमती प्रदेशस्तरीय छलफल: नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बागमती प्रदेश स्तरीय छलफल गरेका छन् । बालुवाटारस्थित ओपेरा होटलमा भएको छलफलमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय पूर्वपदाधिकारी एवं पूर्व केन्द्रीय सदस्यहरु, जिल्ला सभापती र पूर्व सभापती, सांसद र पूर्वसांसद, बागती प्रदेस सांसद, कांग्रेस बागमती प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु लगायत अन्य महत्त्वपूर्ण नेताहरुको उपस्थिति रहेको थियो । देश र पार्टीको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै रणनीति तयार गर्ने उद्देश्यले सुझाव लिन छलफल आयोजना गरिएको हो ।

