सिन्धुली - इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको हिरासतमा मृत्यु भएका श्रीकृष्ण विकको शव परीक्षणका लागि काठमाडौँ लगिएको छ । मृत्युको कारण स्पष्ट पार्न र घटनाको थप अनुसन्धान गर्न सिन्धुली अस्पतालमा रहेको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको हो ।
विवाह गरेपछि श्रीकृष्णलाई एक किशोरीको बलात्कार गरेको आरोप लागेपछि ललितपुर प्रहरीले वैशाख ३ गते पक्राउ गरेर खुर्कोट पठाएको थियो । सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडाका २३ वर्षीय श्रीकृष्णको खुर्कोटस्थित हिरासतभित्रै वैशाख ७ गते मृत्यु भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार श्रीकृष्णले हिरासत कक्षमा रहेको शौचालयभित्र आत्महत्याको प्रयास गरेका थिए । अचेत अवस्थामा प्रहरीले उद्धार गरेर स्थानीय सुनकोशी अस्पतालमा लगेको जनाउँदै त्यहाँबाट सिन्धुली अस्पतालमा लगिएकामा चिकित्सकले मृत्यु भएको घोषणा गरेका उनले बताए ।
मृतककी आमा विन्दामाया विकले भने छोराको मृत्युप्रति प्रहरीसँगै आशंका व्यक्त गरेका छन् । प्रहरीका कारण आफ्नो छोराको ज्यान गएको आङ्शका व्यक्त गर्दै उनले निष्पक्ष छानबिनको माग गरे । न्यायको माग गर्दै पीडितपरिवारसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बिहीबार र शुक्रबार दिउँसो ३ बजेसम्म जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको थियो ।
संघीय सांसद आशिष गजुरेल, धनेन्द्र कार्की, खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, गणेश विक र खिमा विश्वकर्मासहित पीडित पक्षले घटनाको यथेष्ट प्रमाणसहित न्यायको माग गरेका थिए ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन भएपछि आन्दोलन स्थगित गरेर मृतकको शव काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए ।

