दुई दिनअघि राष्ट्रपतिलाई संसद् अधिवेशन आह्वान गर्नका लागि पत्राचार गरेको सरकारले फेरि स्थगितका लागि पत्राचार गरेको छ । यही वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख १७ गते दिउँसो २ बजेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार (वैशाख ९ मा) संसद् अधिवेशन आह्वानको निर्णय गरेका थिए ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
शेखर गोल्छा पक्राउ: हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छालाई प्रहरीले आज पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले काठमाडौँको नागार्जुन नगरपालिका–८ बस्ने गोल्छालाई नक्सालबाट पक्राउ गरेएको हो । सिआइबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतका आधारमा गोल्छालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए।
काठमाडौं प्रशासनको चेतावनीः थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउनका लागि स्थानीय प्रशासनले प्रक्रिया अघि बढाएको छ । बिहीबार साँझ नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले सो क्षेत्रमा पुगेर माइकिङ गर्दै वैशाख १२ गतेभित्र बस्ती खाली गर्न निर्देशन दिएका हुन् । प्रशासनले वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराउने कार्य सुरु हुने भन्दै त्यसअघि नै आ-आफ्नो सरसामान हटाउन सुकुम्बासीहरूलाई आग्रह गरेको छ ।
३० जनाको मृत्यु: गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी विपत्तिमा परी १६ पुरुष, १० महिला र चार जना बालबालिकाको मृत्यु भएको हो । दैवी विपत्तिमा परेर २२२ जना घाइते भएका छन् । विपद्बाट १९१ घर, ११७ गोठ र तीन सरकारी कार्यालयमा क्षति भउको छ भने ५२९ चौपाया मरेका छन् । विपद्बाट ३३ करोड ७२ लाख ६१ हजार बराबरको क्षति भएको अनुमान छ । विपद् प्रतिकार्यमा चार हजार ८४१ प्रहरी परिचालन भएका प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।
ऐतिकासिक जनकपुर चुरोट कारखाना: आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको एक मात्र चुरोट कारखान जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सुचारुको पर्खाइमा छ । राजनीतिक परिवेशको शिकार भएर दुर्भाग्यवस बन्द हुन पुगेको जनकपुर चुरोट कारखानाले एक समयमा प्रत्यक्ष रुपमा सातसय बढी कर्मचारीलाई स्थायी रोजगार दिएको थियो भने अप्रत्यक्ष रुपमा तीन हजार भन्दा बढीले रोजगारी पाएका थिए । २०४६ सालमा देशमा प्रजातन्त्र स्थापन भयो । त्यसको करीब दुई वर्षपछि सुरु भयो राजनीतिक नियुक्तिको दौड ।
सुनचाँदीको मूल्य घट्यो: नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेर २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
इलाम गोल्डकपः डिफेन्डीङ च्याम्पियन न्यूरोड टिम (एनआरटी), काठमाडौं इलाममा जारी तेस्रो इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा रोलिङ क्लब धुलाबारी, झापालाई पराजित गर्दै एनआरटीले फाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा दुबै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । जसमा रोलिङ क्लबलाई ४–३ गोलअन्तरले हराउँदै एनआरटी फाइनलमा पुगेको हो ।

