काठमाडौं - दुई दिनअघि राष्ट्रपतिलाई संसद् अधिवेशन आह्वान गर्नका लागि पत्राचार गरेको सरकारले फेरि स्थगितका लागि पत्राचार गरेको छ ।
यही वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख १७ गते दिउँसो २ बजेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार (वैशाख ९ मा) संसद् अधिवेशन आह्वानको निर्णय गरेका थिए । सरकारको सिफारिस अनुसार उनले वैशाख १४ गते दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वा नगरेका थिए ।
तर, त्यसको भोलिपल्ट बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १७ गतेका लागि आह्वान भएको संसद् अधिवेशन स्थगित गर्ने निर्णय गर्दै राष्ट्रपतिलाई सिफारिस गरेको छ ।
राष्ट्रपति पौडेलले पनि मन्त्रिपरिषद्को निर्णय अनुसार संसद् अधिवेशन स्थगित गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन् । विशेष कारण देखाएर सदनको बजेट अधिवेशन आह्वान स्थगन किन गरियो भन्ने यकिन कारण भने खुलाइएको छैन ।

