काठमाडौं - कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि संवादको मार्ग अपनाउन आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै विगतमा पञ्चायती शासनको दमन, यातना र हिंसाका बीच पनि नेपाली कांग्रेसका कार्यकर्ताले प्रजातन्त्रका लागि संघर्ष जारी राखेको स्मरण गरेका छन्। ‘धम्की, यातना र गोलीका बीच पनि ‘नेपाली कांग्रेस जिन्दावाद’ र ‘प्रजातन्त्र जिन्दावाद’ का नारा लगाइयो,’ उनले उल्लेख गरेका छन्।
कार्कीले माओवादी द्वन्द्वकालमा समेत कांग्रेस कार्यकर्ताले पार्टीप्रतिको आस्था जोगाउँदै सदस्यता सुरक्षित राखेको प्रसंग उठाउँदै अहिले त्यही परम्परा बोकेका कार्यकर्तामाथि कारबाहीको धम्की दिनु अतिवाद भएको बताएका छन्।
उनले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वप्रति सम्मान जनाउँदै पार्टीलाई अनुशासित र जिम्मेवार ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका छन्। ‘नेतृत्वलाई अराजकता होइन, जिम्मेवारीका साथ काम गर्नुपर्नेछ,’ उनले भने ।
कार्कीले पार्टीभित्र देखिएको असमझदारी अन्त्य गर्न संवादमार्फत समाधान खोज्नुपर्ने बताउँदै सबै पक्षलाई एकताबद्ध भएर नियमित महाधिवेशनतर्फ अघि बढ्न आह्वान गरेका छन्।‘संवाद नै समाधानको उपाय हो भन्ने बुझ्न आवश्यक छ,’उनले उल्लेख गरेका छन्।

