काठमाडौं - रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको विनाशकारी बाढीले सिन्धुपाल्चोकका थुप्रै परिवारको खुसी खोसेको छ। रोजगारी, व्यापार र विभिन्न कामका सिलसिलामा रसुवा पुगेका जिल्लाका २४५ नागरिक अझै बेपत्ता छन्।
बाढीले सबैभन्दा ठूलो चोट भोटेकोशी गाउँपालिकालाई दिएको छ। गाउँपालिकाका अनुसार वडा नं. १ का अध्यक्षसहित ७३ जना अझै सम्पर्कविहीन छन्। कतिपय विवरणमा बेपत्ताको संख्या ७४ पुगेको उल्लेख छ।
एकैपटक यति ठूलो संख्यामा नागरिक सम्पर्कविहीन भएपछि गाउँका घर–घरमा यतिबेला एउटै प्रश्न छ—‘हाम्रा मान्छे कहाँ छन्?’
आफन्तको खोजीमा परिवारका सदस्यहरू दिनरात भौतारिरहेका छन्। कसैको छोरा हराएका छन्, कसैको श्रीमान्, कसैको बाबु त कसैको दाजुभाइ। फोनको घण्टी बज्दा पनि हराएका आफन्तको खबर आएको हो कि भन्ने आशामा परिवारका आँखा मोबाइलमै अडिएका छन्।
‘आधा घण्टामै विमानस्थल पुगेँ, तर हेलिकप्टर उडाउन सकिनँ’
भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाका लागि पनि यो विपद् व्यक्तिगत पीडाजस्तै बनेको छ। बाढीमा आफ्नै पालिकाका नागरिक परेको खबर पाएलगत्तै आफू तत्काल उद्धारमा जुटेको उनले बताए।
‘बाढीमा हाम्रा पालिकाबासी परेको खबर पाउनासाथ हामी आधा घण्टाभित्रै विमानस्थल पुगेका थियौँ,’ अध्यक्ष शेर्पाले भने, ‘तत्काल निजी हेलिकप्टर बुक गरेर उद्धारमा निस्कन खोज्यौँ। तर सरकारको एकद्वार नीतिका कारण निजी हेलिकप्टर उडाउन सम्भव भएन।’
आफ्ना नागरिक संकटमा परेको अवस्थामा तत्काल उद्धार गर्न खोज्दा पनि प्रक्रियागत र कानुनी जटिलता आएको भन्दै अध्यक्ष शेर्पाले असन्तुष्टि व्यक्त गरे।
‘त्यतिबेला समय कुर्ने अवस्था थिएन, हाम्रा मान्छेको ज्यान बचाउन तत्काल जानुपर्ने थियो,’ उनको भनाइ छ।
जनप्रतिनिधि आफैं बेपत्ताको खोजीमा
उद्धारको प्रारम्भिक प्रयासमा अवरोध आए पनि अध्यक्ष शेर्पा पछि हटेका छैनन्। उनी आफैं तथा विभिन्न वडाका जनप्रतिनिधि सम्भावित स्थानमा पुगेर नागरिकको खोजीमा जुटिरहेका छन्।
‘हामी आफैं र विभिन्न वडाका अध्यक्षहरू विभिन्न स्थानमा पुगेर खोजतलास गरिरहेका छौँ,’ उनले भने, ‘तर विडम्बना नै भन्नुपर्छ, हाम्रो वडा नं. १ का अध्यक्षज्यूसहित ७३ जना अझै सम्पर्कविहीन हुनुहुन्छ।’
यो तथ्यांक केवल संख्या होइन। ७३ जना बेपत्ता हुनु भनेको ७३ परिवारको प्रतीक्षा, पीडा र अनिश्चितता हो।
संकटमा राजनीति होइन, नागरिक खोज्ने अभियान
यही पीडाबीच अध्यक्ष शेर्पाले शनिबार काठमाडौँमा आकस्मिक सर्वदलीय बैठक बोलाए। बैठकमा उनले बेपत्ता नागरिकको खोजीको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै सबै राजनीतिक दललाई संकटको घडीमा एक ठाउँमा उभिन आग्रह गरे।
बैठकमा सहभागी दलका प्रतिनिधिले नागरिकको खोजी तथा उद्धारमा जनप्रतिनिधिले गरिरहेको प्रयासको प्रशंसा गर्दै थप सहकार्य गर्ने प्रतिबद्धता जनाए।
अध्यक्ष शेर्पाले बेपत्ता नागरिकका परिवार तथा विपद् प्रभावितका लागि पालिकाले तत्काल गर्न सक्ने राहत र सहयोगबारे पनि राजनीतिक दलसँग सुझाव मागेका छन्। उनले छिट्टै राहत तथा सहयोगसम्बन्धी ठोस निर्णय गर्ने बताएका छन्।
तर अहिले भोटेकोशीका परिवारलाई राहतभन्दा पहिले आफ्ना मान्छेको खबर चाहिएको छ। उनीहरूलाई आश्वासन होइन, खोजी चाहिएको छ।
सरकारको प्रक्रिया, नियम र संयन्त्र आफ्नै ठाउँमा होलान्। तर बाढीले कसैलाई पर्खिएन। नदीले समय दिएन। मृत्युले अनुमति मागेन। त्यसैले उद्धार र खोजीले पनि अनुमति पर्खन नहुने परिवारहरूको गुनासो छ।
भोटेकोशीका घरहरूमा अहिले पनि ढोका खुलै छन्। आँगनमा आँखा टाढासम्म पुगेका छन् । फोन हातमै छ।
सायद कुनै दिन अचानक खबर आउला, ‘तपाईंले खोजिरहनुभएको मान्छे भेटियो।’ त्यही एउटा खबरको प्रतीक्षामा सिन्धुपाल्चोकका सयौँ परिवार आज पनि शोक, आशा र अन्योलको बीचमा छन्।

