सिन्धुपाल्चोक - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोकको जिल्ला अध्यक्षमा निलध्वज थापा पुनः निर्विरोध चयन भएका छन्। आइतबार सम्पन्न जिल्ला अधिवेशनले थापालाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो।
निर्वाचन समितिका संयोजक ध्रुव थापाका अनुसार थापाको नेतृत्वमा २५ सदस्यीय जिल्ला कार्यसमिति पनि सर्वसम्मत रूपमा चयन भएको छ। कार्यसमितिका अन्य पदाधिकारी भने पहिलो बैठकबाट मनोनयन गरिने जनाइएको छ।
अधिवेशनबाट जिल्ला कार्यसमिति सदस्यमा अमर पण्डित, राजन भण्डारी, रामबहादुर श्रेष्ठ, सन्तोष दंगाल, विष्णु गिरी, सुरेश थापा, हरिबहादुर नेपाल, बाबुराम शर्मा दंगाल, अम्बिका बस्नेत, अनिल नगरकोटी, पूर्वा तामाङ, रामेश्वर खड्का, ज्ञानबहादुर तामाङ, प्रकाश भट्टराई, गीता राउत, सूर्यबहादुर खड्का, लीलाबहादुर रुचाल ठकुरी, जानकी खड्का ठकुरी, रामकृष्ण गिरी, झम्क खड्का, बलराम नेपाल र दिलीप विक चयन भएका छन्।
अधिवेशनको उद्घाटन राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले ठूला राजनीतिक दलका नेतृत्वले जनताको अपेक्षाअनुसार आफ्नो कार्यशैली परिवर्तन गर्न नसकेको आरोप लगाए।
उनले पछिल्लो समय गाउँ–गाउँमा राजनीतिक दल र नेताप्रति जनताको असन्तुष्टि बढ्दै गएको दाबी गर्दै राजनीतिक नेतृत्वप्रति जनताको धारणा नकारात्मक बन्दै गएको बताए।
लिङदेनले नेताहरूले आफ्नो व्यवहार र कार्यशैली सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै जनतामा बढ्दै गएको राजनीतिक वितृष्णालाई सम्बोधन गर्न दलहरूले आत्मसमीक्षा गरेर जनमुखी ढंगले काम गर्नुपर्नेमा जोड दिए।

