Harsamaya
अनुशासन उल्लङ्घन र पार्टी छाडेकाबाहेक सबैले १५औँ महाधिवेशनमा भाग लिन पाउने
प्रवक्ता देवराज चालिसे ।

ललितपुर - नेपाली कांग्रेसले पार्टीको अनुशासन उल्लङ्घन गरेका, पार्टी परित्याग गरेका र निधन भएका व्यक्तिबाहेक सबैलाई १५औँ महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था मिलाउने निर्णय गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता देवराज चालिसेले १४औँ महाधिवेशनपछि सदस्यता नवीकरण गरे पनि अध्यावधिक हुन नसकेका सदस्यलाई समेत १५औँ महाधिवेशनमा सहभागी गराउने निर्णय भएको जानकारी दिए । 

बैठकमा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतमा भएका कमजोरीबारे सरकारलाई आवश्यक सुझाव दिने तथा कांग्रेसको पार्टी संरचना, भ्रातृ र शुभेच्छुक संस्थालाई थप परिचालन गरी प्रभावितलाई सहयोग गर्ने निर्णय भएको प्रवक्ता चालिसेले बताए । उनका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार, राहतसँगै पुनःनिर्माणमा समेत पार्टीले थप योगदान गर्ने निर्णय भएको छ।

वडा अधिवेशनको मिति पुनर्विचार गर्न आग्रह गरिने
कांग्रेसले आगामी भदौ २४ गते तोकिएको वडा अधिवेशनको मितिमा पुनर्विचार गर्न आग्रह गर्ने तयारी गरेको छ। भोटेकोशी बाढी तथा पहिरोका कारण विभिन्न स्थानमा जनजीवन प्रभावित भएकाले अधिवेशनको मितिबारे पुनर्विचार गर्न आग्रह गरिने चालिसेले बताए । 

सोमबार बस्ने बैठकमा छलफल गरी प्रधानमन्त्री वालेन्द्र शाहलाई संयुक्त राष्ट्रसङ्घमा नेपालको तर्फबाट उठाउने विषयमा समेत सुझाव दिने तयारी कांग्रेसको छ।

बैठकको सुरुवातमा सभापति गगनकुमार थापाले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन, पीडितसँग भेटघाट तथा छलफलबाट प्राप्त वस्तुस्थितिबारे बैठकलाई जानकारी गराएका थिए । 

आजको बैठकमा १७ जना सदस्यले धारणा राखेका थिए। छलफल पूरा नभएकाले बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  २१:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update