Harsamaya
प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण: ‘पारदर्शिता’ कि ‘प्रदर्शन’?
मन्त्रिपरिषद् बैठकको तस्वीर ।

काठमाडौं - प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेपछि सरकारभित्रको आर्थिक हैसियत मात्रै होइन, स्रोत र जीवनशैलीबारे पनि बहस सुरु भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको विवरणमा सामाजिक सञ्जालबाट एक करोडभन्दा बढी आम्दानी देखिनु नयाँ पुस्ताको आयस्रोततर्फ संकेत मानिएको छ भने पत्नी सविना काफ्लेको नाममा ठूलो परिमाणमा सुन पैत्रिक सम्पत्तिका रूपमा उल्लेख हुनु परम्परागत सम्पत्ति संरचनाको झल्को हो।

अर्थमन्त्री स्वर्णिम वाग्लेको हकमा विदेशमा कमाइ गरेको आय मुख्य स्रोतका रूपमा देखिँदा, वैदेशिक रोजगारी र लगानीले नेपाली राजनीतिमा कस्तो प्रभाव पारेको छ भन्ने प्रश्न उठेको छ।  वाग्लेले सम्पत्ति विवरणमा चारवटा घर र अपार्टमेन्ट रहेको उल्लेख गरेकन छन् । उनको सम्पत्ति विवरणमा विदेशको जागिर सम्पत्तिको मुख्य स्रोत रहेको देखाएका छन् । बैंकमा  एक करोड ९० लाख रुपैयाँ र ४५ तोला सुन उनको विवरणमा समावेश छ । विभिन्न जलविद्युत् आयोजना, एक विकास बैंकमा सेयर रहेको जनाएका छन् । 

गृहमन्त्री सुधन गुरुङको विवरणमा ठूलो जग्गा र सेयर बजारमा करोडौँ लगानी देखिनुले परम्परागत जमिन र आधुनिक वित्तीय लगानी दुवैमा राजनीतिक पहुँच देखाउँछ। गुरुङको धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सो जग्गा लगानीबाट जोडेको उल्लेख गरेका छन् । उनका पिता दिलबहादुरको नाममा चितवनको भरतपुर १८ गुञ्जनगरमा ३० कठ्ठा र बाजे रामसलको नाममा गोरखाको चुननुब्रीमा २ सय २१ रोपनी जग्गा रहेको छ । गृहमन्त्री गुरुङको सेयर मार्केटमा चार करोड ३१ लाख रुपैयाँ बढी लगानी रहेको छ । ८९ तोला सुन र विभिन्न कम्पनीमा सेयर लगानी रहेको उल्लेख 

परराष्ट्रमन्त्री शिशिर खनाल र अन्य मन्त्रीहरूको विवरणमा भने पारिवारिक नाममा रहेको सम्पत्ति, सीमित नगद र सेयर लगानी देखिँदा मध्यम स्तरको आर्थिक संरचना झल्किन्छ। खनालको नाममा काठमाडौँमा पाँच आनाको घर छ । बुबाकै नाममा तनहुँ, नवपुर र नेपालगन्जमा २८ रोपनी दुई कट्ठा जग्गा छ । त्यसैगरी १३ लाख रुपैयाँ नगद र २२ तोला सुन रहेको विवरणमा उल्लेख गरेका छन् । उनको र श्रीमतीको नाममा विभिन्न कम्पनीमा सेयर रहेको छ ।

उर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले १५ तोला सुन र ५० तोलामा चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । वीरेन्द्रभक्त श्रेष्ठ र विकास श्रेष्ठका नाममा घर, विभिन्न बैंकमा ६४ लाख ६३६ रुपैयाँ नगद रहेको छ । उनीसँग विभिन्न कम्पनीको सेयर र सवारीसाधन पनि रहेको छ ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको काठमाडौँ र चितवनमा घर रहेको छ । श्रीमान्का नाममा काठमाडौँमा र सासूका नाममा चितवनमा घर रहेको उल्लेख छ । कानुनमन्त्री गौतमसँग १० लाख ५० हजार रुपैयाँ नगद विभिन्न बैंकमा मौज्दात छ । एभरेष्ट बैंकबाट उनले ऋण लिएको देखिन्छ भने उनको १५ तोला सुन, एक तोला हीरा र नौ तोला चाँदी रहेको छ ।

रोचक पक्ष भनेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीको विवरण हो, जहाँ ठूला सम्पत्तिभन्दा दैनिकीसँग जोडिएका वस्तु—कुखुरा, कुकुर, स्कुटर—समेत उल्लेख छन्।  साथै मन्त्री बादीको १८ तोला सुन, १५ तोला चाँदी छ । यसले मन्त्रीहरूको आर्थिक हैसियतमा रहेको विविधता स्पष्ट पार्छ। 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको ९० लाख रुपैयाँ बराबरको नगद बैंकमा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनीसँग ३० तोला सुन, ५० तोला चाँदी र परिवारको नाममा रुपन्देहीमा एक कट्ठा १० धुर जग्गामा रहेको घर, नवलपरासीमा १० कट्ठा १५ धुर जग्गा, स्याङ्जामा सात रोपनी खेत र २२ रोपनी बारी रहेको सम्पत्ति विवरणमा समावेश छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले काठमाडौँमा रहेको घर श्रीमान्को आयका रूपमा उल्लेख गरेकी छिन् । यस्तै, काठमाडौँ र बारामा जग्गा रहेको छ भने उनीसँग २५ तोला सुन, विभिन्न बैंकमा रु २४ लाखबराबरको बचत रहेको विवरणमा समावेश छ । उनको २० लाख रुपैयाँ बराबरको ऋण र ४४ लाख रुपैयाँ बराबरको गाडी रहेको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको पाँच तोला सुन र एक सय तोला चाँदी रहेको छ । विभिन्न बैंकमा एक लाख २६ हजार रुपैयाँ मौज्दात रहेको उल्लेख छ । उनले माइतीले दिएको दुईवटा बाख्रा र १० वटा कुखुरा रहेको विवरणमा समावेश छ ।  

उद्योगमन्त्री गौरीकुमारी यादव र श्रममन्त्री रामजी यादव जस्ता केही मन्त्रीहरूको हकमा भने सुन, चाँदी र लगानीको मात्रा उल्लेखनीय देखिन्छ । यादवसँग १८० तोला सुन, दुई किलो चाँदी, दुई सेट हिराको गहना रहेको सम्पत्ति विवरणमा समावेश छ । यस्तै, विभिन्न बैंकमा बचत र विभिन्न कम्पनीमा तीन करोड ३८ लाख रुपैयाँ बराबरको लगानी रहेको छ । यस्तै यादवको ८० तोला सुन र १५० तोला चाँदी, विभिन्न बैंकमा नगद रहेको जनाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताको सासूसुसुराको नाममा घर जग्गा रहेको उल्लेख छ । यस्तै, ३० तोला सुन र ५० तोला चाँदी रहेको छ । विभिन्न बैंकका बचत, विभिन्न कम्पनीको सेयर तथा एउटा सवारीसाधन रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री खड्कराज पौडेलको भाउजु सन्तोषी शर्माको नाममा पोखरा महानगरपालिका–१४ मा दुई करोड ६० रुपैयाँमा खरिद गरेको घर रहेको उल्लेख  छ । पोखरामा पैत्रिक रूपमा प्राप्त भएको जग्गा, ११ तोला सुन र पाँच तोला चाँदी रहेको उनको सम्पत्ति विवरणमा समावेश छ । विभिन्न बैंक र सहकारीमा नगद तथा ऋण लिएको समेत उल्लेख गरेका छ्न।  

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले श्रीमतीको नाममा काठमाडौँमा घर रहेको छ । स्वदेश तथा विदेशमा गरेको कार्यबापतको तलबभत्ता र आम्दानीबाट घर जग्गा खरिद गरेको सञ्चारमन्त्रीले जनाएका छन् । उनको विवाहमा पुख्र्यौली सम्पत्तिबाट किनेको तथा उपहार प्राप्त गरेको सुन र चाँदी, १० लाख ३४ हजार ३८६ रुपैयाँ बराबरको बचत रहेको छ ।

समग्रमा, सार्वजनिक गरिएको सम्पत्ति विवरणले केवल व्यक्तिगत धनसम्पत्ति मात्र होइन, नेपाली राजनीतिक वर्गभित्रको आर्थिक असमानता, आयस्रोतको विविधता र पारदर्शिताको अभ्यासलाई पनि उजागर गरेको छ। 

अब प्रश्न उठ्छ, यो विवरणले जनविश्वास बढाउने हो कि थप प्रश्न जन्माउने?

प्रकाशित मिति: सोमबार, चैत ३०, २०८२  ०७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update