Harsamaya
बिलबहादुर तामाङद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व जिल्ला सचिव बिलबहादुर तामाङ ।

सिन्धुपाल्चोक - नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व जिल्ला सचिव बिलबहादुर तामाङले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला) पदमा उम्मेदवारी घोषणा गरेका छन्।

पार्टी राजनीतिमा लामो समयदेखि सक्रिय तामाङले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। उनी यसअघि पनि महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भइसकेका छन्। २०७८ को कांग्रेस महाधिवेशनमा समेत सिन्धुपाल्चोक–२ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधि चयन भएका थिए । 

२०५४ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेका तामाङले नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकको अध्यक्षदेखि महासमिति सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका छन्। कांग्रेसको १३औँ जिल्ला अधिवेशनबाट जिल्ला सचिवमा निर्वाचित भएका उनले जिल्लाको संगठन निर्माण र पार्टी गतिविधिमा निरन्तर भूमिका निर्वाह गर्दै आएका छन्। 

लामो राजनीतिक अनुभव र संगठनसँगको निरन्तर सम्बन्धलाई आधार बनाउँदै तामाङले यसपटक पनि महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो दाबी अघि सारेका हुन्। उनले पार्टी संगठनलाई अझ सुदृढ बनाउँदै कार्यकर्ताको भावना, अपेक्षा र विश्वासलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

वर्षौँको संघर्षबाट खारिएको अनुभव, संगठनसँगको निरन्तर सम्बन्ध र कार्यकर्तासँगको आत्मीयतालाई साथमा लिएर तामाङले महाधिवेशन प्रतिनिधिको यात्रामा आफूलाई पुनः उभ्याएका छन्।

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update