Harsamaya
जापानका लागि प्रस्तावित राजदूत थापा नै जापानी पीआरधारी 
जापानका लागि प्रस्तावित नेपाली राजदूत जिग्यान कुमार थापा

काठमाडौं - जापानका लागि प्रस्तावित नेपाली राजदूत जिग्यान कुमार थापा आफैँले सन् २०१८ मा जापानको स्थायी बसोबास अनुमति (पीआर) लिएको स्वीकार गरेका छन्। जापानको एक सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा उनले जापानमै घर किनेको र श्रीमती तथा दुई छोराछोरी पनि जापानमै बस्दै आएको बताएका छन्।

थापाका अनुसार सन् २०१८ मा जापानको स्थायी बसोबास अनुमति पाएपछि उनले जापानमै बस्ने निर्णय गरेका थिए। उनका दुई छोराछोरी जापानमै जन्मिएका हुन् र उनीहरूले त्यहीँ शिक्षा हासिल गरेका छन्। छोराछोरी जापानमै हुर्किएकाले उनीहरूको भविष्यलाई ध्यानमा राखेर आफूले कानागावा प्रिफेक्चरमा घरसमेत किनेको उनले बताएका छन्।

उनले अन्तर्वार्तामा भनेका छन्, ‘२०१८ मा स्थायी बसोबास अनुमति प्राप्त गरेपछि मैले जापानमा बस्ने निर्णय गरेँ।’

थापाका अनुसार उनकी श्रीमती नेपाली हुन्। उनले जापानी भाषा अध्ययन गरेकी छन् भने जापानी विद्यालयमा गरिबी न्यूनीकरण र शान्ति निर्माणसम्बन्धी अध्ययनमा समेत संलग्न भएकी थिइन्। हाल उनी जापानमा नेपाली भाषा विद्यालय सञ्चालन गर्दै आएकी छन्।

तर थापा जापानका लागि राजदूत बन्न सिफारिस भएपछि उनको पीआरसम्बन्धी विषयले प्रश्न उठाएको छ।

परराष्ट्र मन्त्रालयले राजदूत पदका लागि प्रकाशित गरेको विज्ञापनमा कुनै पनि विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति (पीआर) वा अध्यागमन सुविधा नलिएको हुनुपर्ने योग्यता तोकेको छ।

एकातिर राजदूतका लागि विदेशी मुलुकको पीआर नलिएको हुनुपर्ने व्यवस्था छ भने अर्कोतर्फ जापानका लागि प्रस्तावित थापाले आफूले सन् २०१८ मै जापानको पीआर लिएको सार्वजनिक रूपमा बताएका छन्। यसले उनको राजदूत पदको योग्यताबारे प्रश्न उठाएको हो।

दुई दशकदेखि जापानमै सक्रिय
थापा सन् २००० मा छात्रवृत्तिमा अध्ययनका लागि जापान पुगेपछि त्यहीँ बसेर नेपाल–जापान सम्बन्धसँग जोडिएका विभिन्न क्षेत्रमा काम गर्दै आएका छन्। नेपाल–जापानबीच भएका उच्चस्तरीय भ्रमणमा उनले दोभाषेको भूमिकासमेत निर्वाह गरेको बताइएको छ।

परराष्ट्र मन्त्रालयको विवरणअनुसार थापाले योकोहामा नेसनल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कानुनमा स्नातकोत्तर र शुमेई युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सहकार्यमा स्नातक गरेका छन्।

उनी सन् २००९ देखि कानागावा इन्टरनेसनल फाउन्डेसनमा अन्तर्राष्ट्रिय सहकार्य, सार्वजनिक नीति तथा बहुसांस्कृतिक मामिलाका विज्ञका रूपमा कार्यरत छन्।

सन् २००५ देखि उनले नेपाल–जापान उच्चस्तरीय द्विपक्षीय कार्यक्रमको समन्वय गर्दै आएको बताइएको छ। नेपालका राष्ट्रपति सन् २०२६ मा जापान भ्रमणमा जाँदा आयोजित नेपाल–जापान व्यापार संवादको आयोजना पनि उनले गरेका थिए।

थापा जापानस्थित गैरआवासीय नेपाली संघका पूर्वमहासचिव तथा नेपाली विद्यार्थी संघका पूर्वअध्यक्षसमेत हुन्। उनले जापानका विभिन्न विश्वविद्यालयमा सह–प्राध्यापकका रूपमा अध्यापनसमेत गर्दै आएका छन्।

जापानमा लामो समय बसेर नेपाल–जापान सम्बन्धमा काम गरेका थापाको अनुभवलाई सरकारले राजदूतका लागि आधार बनाएको देखिन्छ। तर राजदूतका लागि पीआर नलिएको हुनुपर्ने सरकारी मापदण्ड र थापाले आफैँ पीआर लिएको स्वीकार गरेको विषयबीच देखिएको अन्तरबारे सरकारले स्पष्ट पार्नुपर्ने देखिएको छ।

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update