सिन्धुपाल्चोक - नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिका उम्मेदवार पासाङ दोङले आफ्नो उम्मेदवारी पार्टीप्रतिको लामो लगाव, निरन्तर सक्रियता र सहकर्मीको आग्रहबाट आएको बताएका छन्।
पार्टीमा लामो समयदेखि निरन्तर क्रियाशील रहँदै आएका दोङले आफूलाई नेतृत्वका लागि योग्य बनाउने आधार आफ्नै दाबीभन्दा पनि पार्टीमा गरेको निरन्तर कर्म, लगनशीलता र इमानदारी भएको बताए।
उम्मेदवारी दिनुको मुख्य कारणबारे हर समयसँग उनले भने, ‘पार्टीमा म जसरी लागिरहेको थिएँ, संगठनमा निरन्तर काम गरिरहेको थिएँ। लामो समयदेखि सँगै काम गरेका साथीहरूले अहिलेको नेतृत्वका लागि पासाङ दोङलाई अगाडि बढाउनुपर्छ भनेर आग्रह गर्नुभयो। राजनीतिक मान्छे भएकाले साथीहरूको आवश्यकता र आग्रहलाई सहजै स्वीकार गरेर उम्मेदवारी दिएको हुँ।’
उनले आफ्नो उम्मेदवारी पार्टीभित्रका जिम्मेवार नेता तथा साथीहरूको समर्थन र विश्वासबाट अघि बढेको बताए।
‘योग्यता कर्मले निर्धारण गर्छ’
क्षेत्रीय सभापति बन्न आफूलाई योग्य ठान्नुको आधारबारे दोङले राजनीतिक संगठनमा योग्यता र अयोग्यता आफ्नो कर्मले निर्धारण गर्ने बताए।
‘मैले जुन बेलादेखि पार्टीमा निरन्तर संघर्ष गर्दै आएँ, त्यसलाई नै मैले आफ्नो आधार मानेको छु। पार्टी संगठनमा अहिलेसम्मको अनुभव, पार्टीप्रतिको लगनशीलता, इमानदारी र निरन्तरता नै मेरो योग्यता हो,’ उनले भने, ‘योग्य छु कि छैन भन्ने कुरा मैले आफैँ निर्धारण गर्ने होइन, पार्टीका साथीहरूले निर्धारण गर्ने हो। उहाँहरूले नेतृत्वका लागि अगाडि बढाउनुपर्छ भनिसकेपछि म योग्य रहेछु भन्ने विश्वास लिएर चुनावमा आएको हुँ।’
‘कांग्रेस के हो भन्ने कुरा व्यवहारबाट बुझाउनुपर्छ’
क्षेत्र नम्बर २ को कांग्रेसका लागि अहिलेको मुख्य चुनौती कांग्रेसप्रति आस्था राख्ने सबैलाई कांग्रेसको वास्तविकता व्यवहारबाट बुझाउन नसक्नु रहेको उनको बुझाइ छ।
‘कांग्रेस भनेको यो हो भनेर हामीले अहिलेसम्म सबै साथीलाई बुझाउन नसकेको हो कि भन्ने लाग्छ। त्यो बुझाउन कुराकानी र भाषणले मात्रै पुग्दैन। नेतृत्वको व्यवहार र कर्मबाट देखाउनुपर्छ। नेतृत्वले आफ्नो व्यवहारबाट कार्यकर्ता र सबै साथीलाई कांग्रेस के हो भन्ने बुझाउन सक्यो भने मात्रै त्यसको अर्थ हुन्छ,’ उनले भने।
गुट–उपगुटभन्दा नेतृत्व विकासमा जोड
कांग्रेसमा केन्द्रदेखि वडा तहसम्म गुट–उपगुट मौलाएको विषयमा उनले नेतृत्वका लागि आकांक्षा राख्नु स्वाभाविक भएको बताए।
‘मलाई लाग्छ, साथीहरूले आफू पनि सक्षम छु, नेपाली कांग्रेसको नेतृत्व लिन सक्छु भन्नु स्वाभाविक हो। अर्को साथीले पासाङ दोङलाई नेतृत्व सुम्पिँदा राम्रो हुन्छ भनेर आउनु पनि स्वाभाविक हो। त्यसलाई गुट मात्रै भनेर हेर्नु उचित हुँदैन,’ उनले भने।
उनका अनुसार पार्टीभित्र नेतृत्वका लागि धेरै व्यक्ति तयार हुनु आफैँमा नेतृत्व विकासको संकेत हो। आफ्नो उम्मेदवारीका क्रममा आएको प्रतिक्रियालाई हेर्दा आफूले गुटको रूपमा त्यस्तो प्रतिक्रिया नपाएको उनको भनाइ छ।
‘युवालाई भाषण होइन, नेतृत्वको कर्मले आकर्षित गर्नुपर्छ’
युवा पुस्तालाई कांग्रेसमा आकर्षित गर्न उनीहरूले नेतृत्वको व्यवहार र कर्म हेर्न पाउनुपर्ने दोङको धारणा छ।
‘युवालाई दुई दिनका लागि कुराकानी गरेर, हामी यो गर्छौं, त्यो गर्छौं भनेर मात्रै चित्त बुझाएर हुँदैन। नेपाली कांग्रेसमा लागेपछि नेतृत्व कस्तो हुनुपर्छ भन्ने कुरा नेतृत्वले आफ्नो कर्मबाट देखाउनुपर्छ,’ उनले भने।
युवा पुस्ता पढेलेखेको र समयअनुसार धेरै कुरा बुझ्न सक्ने भएकाले नेतृत्वले इमानदार र सही कर्म गरे युवा आफैँ आकर्षित हुने उनको भनाइ छ।
‘सबैलाई एक ठाउँमा ल्याएर निर्वाचनमा जानुपर्छ’
आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै क्षेत्र नम्बर २ मा संगठन बलियो बनाउन पार्टीभित्रका असन्तुष्टि, फरक मत र साना–ठूला समस्यालाई नेतृत्वले पहल गरेर समाधान गर्नुपर्ने दोङले बताए।
‘नेतृत्वले पहल गरेर फरक मत भएका सबै साथीलाई एक ठाउँमा ल्याउनुपर्छ। अबको दिनमा सबै नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर निर्वाचनमा एक ढिक्का भएर जानुपर्छ,’ उनले भने।
उम्मेदवारीलगायत महत्वपूर्ण विषयमा पारदर्शी, सामूहिक र संस्थागत निर्णय गरेर अघि बढे कांग्रेस कमजोर नभएको उनको दाबी छ। ‘सबै साथीको चित्त बुझाएर सामूहिक र संस्थागत निर्णय गरेर गयौँ भने चुनाव जिताउने भूमिका कांग्रेसका हरेक नेता–कार्यकर्ताको हुन्छ,’ उनले भने।
‘सभापति म मात्रै होइन, सबैको विश्वास जित्ने नेतृत्व हुनुपर्छ’
क्षेत्रीय सभापतिमा निर्वाचित भए पहिलो प्राथमिकता पार्टीभित्र सबैलाई समेट्ने वातावरण बनाउनु रहेको उनले बताए।
‘सभापति म मात्रै हुँदैन। समितिभित्र विभिन्न तहका साथीहरू हुन्छन्। सबैको विश्वास जितेर, सबै एक ठाउँमा भएर पार्टी सञ्चालन गर्न सक्नुपर्छ,’ उनले भने, ‘जितिसकेपछि सबै साथीको मन जितेर, सबैलाई समेटेर आगामी निर्वाचनमा अघि बढ्ने वातावरण बनाउनु नै सफल नेतृत्व हो।’
जित र हारको अनुभवलाई आधार बनाउने
दोङले नेपाली कांग्रेसका आन्तरिक निर्वाचनमा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा जिल्ला कोषाध्यक्षका रूपमा काम गरेको अनुभवलाई यसपटकको उम्मेदवारीको आधारका रूपमा लिएका छन्।
उनले जित र हार दुवैको अनुभवबाट पार्टीभित्रका नेता–कार्यकर्ताको भूमिका र योगदान बुझ्ने अवसर पाएको बताए। ‘अहिले पार्टीभित्र रहेका साथीहरूको योगदान र भूमिकालाई मैले बुझेको छु। हिजोका सहकर्मी साथीहरूको भूमिका पनि बुझेको छु। युवाहरूले पनि पासाङ दोङलाई अगाडि बढाउँदा आफ्ना कुरा बुझ्न सक्छन् भन्ने विश्वास लिएर अगाडि बढाउनुभएको हो भन्ने लाग्छ,’ उनले भने।
कृष्ण बहादुर तामाङको उम्मेदवारीलाई स्वाभाविक माने
क्षेत्र नम्बर २ मा बागमती प्रदेशका पूर्वमन्त्री कृष्ण बहादुर तामाङले पनि उम्मेदवारी दिने चासो देखाएको विषयमा दोङले त्यसलाई स्वाभाविक रूपमा लिएको बताए।
‘नेपाली कांग्रेसको विशेषता नै नेतृत्वको विकास हुनु हो। पार्टीभित्र रहेर आफ्नो क्षमता छ, आफूले नेतृत्व गर्न सक्छु भन्ने जो कोही साथीले आफ्नो कुरा खुला रूपमा राख्न पाउनुपर्छ,’ उनले भने।
धेरै व्यक्ति नेतृत्वका लागि तयार हुनु कांग्रेसको लोकतान्त्रिक अभ्यास र नेतृत्व विकाससँग जोडिएको उनको भनाइ छ।
२०४६ पछि कांग्रेसको सदस्य, प्रतिगमनविरुद्ध आन्दोलनमा जेल
दोङले आफ्नो राजनीतिक यात्रा २०४६ सालको जनआन्दोलनपछि गाउँमा कांग्रेसको संगठन निर्माण गर्ने क्रममा सुरु भएको बताए। उनका बुवा जितबहादुर दोङ २०३६ सालको जनमतसंग्रहदेखि कांग्रेसमा आबद्ध रहेको उल्लेख गर्दै उनले गाउँमा संगठन बनाउन आएका कांग्रेसका नेता मित्रबहादुर कार्कीले आफूलाई पार्टीको सदस्य बनाएको स्मरण गरे।
उनका अनुसार तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन सुरु गरेपछि कांग्रेसले संसद् पुनःस्थापनासहित लोकतन्त्र पुनर्बहालीको आन्दोलन सुरु गरेको थियो। २०६० साल भदौ २४ गतेबाट सुरु भएको प्रतिगमनविरुद्धको आन्दोलनमा आफू आन्दोलनकारी सदस्य बनेर सहभागी भएको उनले बताए।
आन्दोलनका क्रममा वीर अस्पतालनजिक प्रहरीले लाठीचार्ज गरी पक्राउ गरेको र अन्य नेता–कार्यकर्तासँगै दशरथ रंगशालाको कभर्ड हलमा बन्दी बनाइएको उनले स्मरण गरे। त्यहाँ तत्कालीन कांग्रेस सभापति सुशील कोइराला, रामचन्द्र पौडेल, सुजाता कोइरालालगायत नेताहरू पनि रहेको उनले बताए।
त्यस क्रममा करिब २४ घण्टाभन्दा कम समय नियन्त्रणमा राखेर आफूहरूलाई छाडिएको उनको भनाइ छ।
‘प्रतिगमनविरुद्धको आन्दोलनमा घाइते पनि भएँ’
दोङले आन्दोलनकै क्रममा प्रहरीको कुटपिटबाट आफू घाइते भएको पनि बताए। उनका अनुसार सुन्धारानजिक आन्दोलनका क्रममा घाइते भएपछि तत्कालीन क्षेत्रीय सभापति विकास लामाले उद्धार गरेर बागबजारस्थित मेमोरी अस्पतालमा भर्ना गराएका थिए।
‘त्यतिखेर घाइते भएर अस्पताल भर्ना भएको कागजात पनि मसँग छ,’ उनले भने।
पछि कांग्रेसले प्रतिगमनविरुद्ध संसद् पुनःस्थापनाका लागि जिल्लाहरूमा २४ घण्टे रिले अनशन सुरु गर्ने निर्णय गरेपछि आफूले सिन्धुपाल्चोकमा त्यसको नेतृत्व गरेको उनले बताए।
त्यतिबेला आफू कांग्रेसको ११औँ महाधिवेशनमा मास–सञ्चिति सचिव रहेको उल्लेख गर्दै उनले संकटकालको अवस्थामा चौतारामा रिले अनशन बसेको बताए। आफ्ना बुवा जितबहादुर दोङ, फडिन्द्रकुमार दोङ, कामी दोङ, शिव लामिछाने, साइला तामाङ, अशोक बम्जनलगायतलाई सहभागी गराएर रिले अनशन बसेको उनले स्मरण गरे।
रिले अनशनमा सहभागी भएको भन्दै तत्कालीन कांग्रेसका केन्द्रीय नेता स्वर्गीय भिमबहादुर तामाङबाट कदरपत्रसमेत प्राप्त गरेको उनले बताए।
‘जुनसुकै अवस्थामा पनि पार्टीले दिएको निर्देशन र मार्गनिर्देशनअनुसार काम गर्दै आएका छौँ। जस्तोसुकै संकट पर्दा पनि विचलित नभई पार्टीले लिएको लक्ष्य पूरा हुन्छ भन्ने विश्वास लिएर नेपाली कांग्रेसप्रति बफादार भएर काम गर्दै आएका छौँ,’ उनले भने।
‘पहिले संघर्ष कठिन थियो, अहिले सुविधा बढेको छ’
पुरानो समयको राजनीतिक संघर्ष र अहिलेको अवस्थाबीच फरक रहेको दोङको अनुभव छ।
‘त्यतिबेला कार्यक्रममा पुग्नुपर्छ भने कसरी जाने, केमा जाने र गोजीमा पैसा छ कि छैन भन्ने ठूलो कुरा हुन्थ्यो। पुग्न सकिन्छ कि सकिँदैन भन्ने नै चुनौती हुन्थ्यो,’ उनले भने।
आवश्यक पर्दा बाँसखर्कबाट धानखोला वा चौतारासम्म पैदल हिँडेर समेत कार्यक्रममा जाने गरेको उनले बताए। अहिले यातायात र सञ्चारको सुविधा बढेकाले राजनीतिक गतिविधिमा सहभागी हुन पहिलेभन्दा सहज भएको उनको अनुभव छ। यद्यपि कांग्रेसप्रतिको आकर्षण र संगठनको सक्रियता अहिले पनि रहेको उनले बताए।
‘मतदाताले नेतृत्वको आवश्यकता हेरेर निर्णय गरून्’
अन्त्यमा क्षेत्रीय प्रतिनिधि तथा मतदातालाई आग्रह गर्दै दोङले आन्तरिक निर्वाचनमा कसैलाई राम्रो वा नराम्रो भनेर छुट्याउनुभन्दा आगामी नेतृत्वको आवश्यकता हेरेर निर्णय गर्न आग्रह गरे।
‘पार्टीभित्र सबै साथीहरू आ–आफ्नो ठाउँमा योग्य छौँ भनेर नै आएका हुन्छौँ। म धेरै अबोध छु, अरू ठीक छैनन् भन्ने मेरो धारणा छैन। अहिलेको नेतृत्व कसले दिँदा ठीक हुन्छ र भोलिको नेतृत्व कसलाई दिँदा ठीक हुन्छ भन्ने कुरा मतदाता साथीहरूले छुट्याइदिनुस्,’ उनले भने।
उनका अनुसार क्षेत्रीय प्रतिनिधिमा आफूभन्दा सिनियर नेताहरू पनि रहेकाले सबै कुरा बुझेर नेतृत्व चयन गर्ने जिम्मेवारी प्रतिनिधिहरूको हो।
‘अहिले पार्टीभित्र यो राम्रो, यो नराम्रो भनेर छुट्याउनुपर्ने अवस्था छैन। अहिलेको नेतृत्व र भोलिको नेतृत्व कसलाई दिँदा ठीक हुन्छ भन्ने टुङ्गो क्षेत्रीय प्रतिनिधि साथीहरूले लगाउनुहोस्। उहाँहरूले सबै कुरा बुझेर निर्णय गर्नुहुनेछ भन्ने मेरो विश्वास छ।’

